बागमतीका नगरप्रमुख भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पाँच करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँ– सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता भएको छ।

थापाले पाँच करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा सात करोड ८६ लाख ५० हजार रुपैयाँ वैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ । तर सोही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ। 

कुल आय तथा लगानी र खर्चबीचको तादाम्य नमिलेको पाँच करोड ३३ लाख ५३ हजार अवैध आम्दानी गरेको अख्तियारले जनाएको छ। अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिबाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ।

यस्तै, अख्तियारले उनकी श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ राम थापा र भाइबुहारी द्वारिका राउतलाई पनि प्रतिवादी बनाएको छ। 

थापाले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट उनीहरूका नाममा घरजग्गा खरिद, शेयर खरिद, बिमा प्रिमियम भुक्तानीलगायतमा लगानी गरेको अभियोगपत्रमा उल्लेख छ।