प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा वैशाख २ गतेसम्मलाई स्थगित

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण बैठक ४ दिनका लागि स्थगित गरिएको हो।

काठमाडाैँ– नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण सभामुख देवराज घिमिरेले चार दिनका लागि संसद बैठक स्थगित गरेका छन्। बुधबार आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरू आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरे।

गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायमै राखेको कांग्रेसले आकस्मिक समयमा सदन सञ्चालन गर्न दिए पनि शून्य समय प्रारम्भ गर्न खोज्दा अवरोध गरेको हो। राप्रपाका सांसदले पनि मंगलबारको प्रदर्शनमा आफूमाथि प्रशासनले शक्ति प्रयोग गरेको आरोप लगाउँदै सदनमा विरोध जनाए।

बुधबार आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलका सांसदले आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको जानकारी गराएका हुन्।

मंगलबारको बैठक पनि कांग्रेसको अवरोधका कारण आजलाई सारिएको थियो।