राष्ट्रियसभा उपाध्यक्षमा बिमला घिमिरे निर्वाचित

एमालेकी सांसद बिमला घिमिरेको पक्षमा ३९ सांसदहरूले मतदान गरेका थिए भने विपक्षमा १६ मत परेको थियो।

काठमाडौँ– राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद बिमला घिमिरे निर्वाचित भएकी छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएकी सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे। अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे।

उक्त मतविभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी भएका थिए। एमालेका सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदहरूले मतदान गरेका थिए। यस्तै, उक्त प्रस्तावमा हुन्न भन्नेमा १६ मत परेको थियो।

उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो। अध्यक्ष दाहालले बहुमत प्राप्त नगरेपछि सांसद पुडासैनीलाई उपाध्यक्ष पदका लागि अस्वीकृत भएको घोषणा गरेका थिए।

सभाको अर्को बैठक यही चैत ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्ने छ।