सरकारमा जान हामीलाई हतारो छैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई सरकारमा जान कुनै हतारो नभएको बताएका छन्।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई सरकारमा जान कुनै हतारो नभएको बताएका छन्।
शनिबार उकालोसँग कुरा गर्दै लिङ्देनले चुनावी मतपरिणाम पूर्णरूपमा आइनसकेकाे अवस्थामा राप्रपाले सरकारमा जाने विषयमा कुनै बहस नगरेको बताए। “हामी चुनावी उपलब्धीबारे भूईंमा बसेर समिक्षा गरिरहेका छौँ। कतिपय स्थानको मतपरिणाम आइसकेको छैन। सरकारमा जाने विषयलाई लिएर हतार गरेका छैनौं”, उनले भने, “यसबारे हाम्रो गहन छलफल हुनेछ । तर, ठूला दलका गतिविधि र हाम्रो मत परिणामको अवस्था हेरेर छलफल गर्नेछौं ।”

लिङ्देनले अहिलेसम्म कांग्रेसबाट सरकार गठनमा सहकार्य गर्ने प्रस्ताव नआएको दाबी गरे। “बाहिर हल्ला गरेजस्तो सरकारमा संलग्न हुन या सहकार्य गर्न हामीलाई कांग्रेसबाट प्रस्ताव आएको छैन। शुभकामना आदानप्रदान पनि भएको छैन। तर, यस्तो प्रस्ताव आएमा अस्वाभाविक पनि मान्दैनौ”, उनले भने।

राप्रपाले अहिलेसम्म प्रतिनिधिसभामा छ स्थानमा जित हासिल गरिसकेको छ भने एक स्थानमा अग्रता लिइरहेको छ। उसले समानुपातिकतर्फ ४ लाख ७ हजार मत ल्याएको छ।