इस्लाम धर्मावलम्बीले इद मनाउँदै, देशभर सार्वजनिक बिदा

बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। ‘सेवइ’ खाएर र सामूहिक रूपमा नमाज पढेर यो पर्व मनाइन्छ।

काठमाडौँ– इस्लाम धर्मावलम्बीले बिहीबार इद–उल फित्र (इद) मनाउँदै छन्। 

बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए।

मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन्। रमजानलाई पवित्र महिना मानिन्छ। “जकात (दान) यही महिनामा दिइन्छ,” उनले भने, “हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ।”

‘सेवइ’ खाएर र सामूहिक रूपमा नमाज पढेर यो पर्व मनाइन्छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा मुस्लिम समुदाय कूल जनसंख्याको ५.९ प्रतिशत छ। आयोगले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने तयारी गरिरहेको अध्यक्ष अन्सारीले बताए। 

काठमाडौँमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभाहलको अभाव भएको उनको भनाइ छ।

“संस्कृति बचाउन स्थान चाहिन्छ,” उनले भने, “देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ।”

यसैबीच, सरकारले इदका अवसरमा सार्वजनिक बिदा दिएको छ।