लागुऔषधसहित १० जना पक्राउ

ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरू पक्राउ परेका हुन्।

काठमाडौँ– ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले १० जनालाई पक्राउ परेको छ।

लागुऔषध खैरो हेरोइन १९४.८५० ग्राम, नियन्त्रित लागुऔषध ५०३ एम्पुल एवं मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार २०० ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागुऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ। पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक हुन्।

विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोद्वारा सञ्चालित प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरी लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम कारबाही थालिएको ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। उनका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरू पक्राउ परेका हुन्।

बूढानीलकण्डबाट मोरङका नवीन धिताल, ललितपुर महालक्ष्मीबाट सप्तरीका परमानन्द मेहता, विकास कार्की, काठमाडौँबाट भारतीय नागरिक विकास कुमार तथा काठमाडौँ चाबहिलबाट सुनसरीका सञ्जय लिम्बू र विकास मण्डललाई पक्राउ गरिएको उनले बताए। उनीहरू सबैसँग खैरो हेरोइन बरामद गरिएको हो।

यस्तै, नियन्त्रित लागुऔषध नाइट्रोभेट ट्याब्लेट बिक्री गरिरहेको छ भन्ने सूचनाका आधारमा कोटेश्वरस्थित ब्युरोबाट खटिएको टोलीले काठमाडौँको चन्द्रागिरिबाट धीरजकुमार साह र गोकर्णेश्वरबाट भारतीय नागरिक धीरजकुमार तथा गोकर्णेश्वरबाटै सुरेश तामाङ र छिरिङ तामाङलाई पनि पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ। उनीहरूबाट पनि विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ।

उनीहरूलाई चैत १० गतेयताको १० दिनको अवधिमा खोजतलास गरी पक्राउ गरिएको र सबै जनामाथि अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।