काठमाडौँ उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा

हावाहुरीले रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्।

फाइल तस्वीर

काठमाडौँ– काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ। हावाहुरीले रूखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्।

विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रतीले बिहीबार दिउँसोबाट उपत्यकामा पानी पर्न शुरू भएसँगै केही दिनयता बढिरहेको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताए।

“यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ”, उनले भने, “देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदूषण बढेको थियो। वर्षाका कारण वायु प्रदूषण न्यूनीकरण हुनेछ।”

मंगलबार र बुधबार उपत्यकामा वायु प्रदूषण बढ्दा काठमाडौँ विश्वको नै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको थियो। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) २६५ थियो। सोमबार दिउँसो १६५ एक्यूआई रहेको प्रदूषण, मंगलबार २०० पुगेको थियो। बिहीबार भने प्रदूषण घटेर १७७ एक्यूआईमा सीमित भएको छ।