दक्षिण कोरियाको संसदीय निर्वाचनमा विपक्षी दललाई बहुमत

निर्वाचनमा प्रत्यक्ष तर्फका २५४ सिटमध्ये विपक्षी दल डीपीले १६१ सिटमा जित हासिल गरेको छ।

तस्वीर : एपी

दक्षिण कोरियाको विपक्षी दल डेमोक्रेटिक पार्टी (डीपी)ले संसदीय निर्वाचन बहुमत प्राप्त गरेको छ। डीपीले सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी)लाई पछि पार्दै विजय हासिल गरेको हो। चुनावी नतिजाले पीपीपीका तर्फबाट राष्ट्रपति भएका युन सुक योललाई पनि समस्यामा पारेको छ। 

निर्वाचनमा प्रत्यक्ष तर्फका २५४ सिटमध्ये डीपीले १६१ सिटमा जित हासिल गरेको छ। सत्तारुढ पीपीपीले ९० सिट मात्र जित्न सफल भएको छ। समानुपातिक समेतका सिट समावेश गर्दा विपक्षी डीपीले १७५ सिट जितेको छ। यसैगरी पीपीपी लगायतका गठबन्धन पार्टीले १०८ सिट प्राप्त गरेको छ।

योन्हाप समाचार एजेन्सीका अनुसार भ्रष्टाचार आरोपमा मुछिएका पूर्वन्यायमन्त्री चो कुक नेतृत्वको रिबिल्डिङ कोरिया पार्टीले १२ समानुपातिक सिट र पीपीपीका पूर्वनेता ली जुन–सिओकको नेतृत्वमा रहेको न्यु रिफर्म पार्टीले दुई स्थान जित्न सफल भएको छ।

चुनावका लागि योग्य चार करोड ८२ लाख कुल मतदातामध्ये ६७ प्रतिशतले मतदान गरेको स्रोतले जनाएको छ। दक्षिण कोरियाली निर्वाचन आयोगका अनुसार विगत ३२ वर्षयताकै यो सबैभन्दा बढी मतदान हो। 

चुनावी नतिजापछि पीपीपीका नेता हान डोङ–हूनले जनताको इच्छालाई गम्भीरतापूर्वक स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन्।