भगवानबहाल क्षेत्रबाहेक ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले रोजगारी सिर्जना गर्दै व्यवसायलाई चलायमान बनाउनका लागि वैशाख १ गतेदेखि ठमेल र दरबारमार्गलाई २४सै घण्टा सञ्चालन गर्न लागेको बताए।

काठमाडौँ– केन्द्रीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ।

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार ठमेलको भगवानबहाल क्षेत्रमा स्थानीय बसोबास गर्दै आइरहेकाले सो क्षेत्रलाई छाडेर अन्य क्षेत्र २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिएको हो।

परिषद्का अध्यक्ष भविश्वर शर्माले रोजगारी सिर्जना गर्दै व्यवसायलाई चलायमान बनाउनका लागि ठमेल र दरबारमार्गलाई २४सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिए।

“जिल्ला प्रशासन कार्यालय काठमाडौँको आचारसंहिता बमोजिम कानुनको परिधिमा रहेर ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न लागिएको हो,”  उनले भने।

अध्यक्ष शर्माले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुलाउन स्थानीय, प्रदेश र केन्द्र सरकारका सुरक्षा निकायसँग सहकार्य गरिसकेकाले ढुक्क भएर व्यापार व्यवसाय गर्न सबै व्यवसायीलाई आग्रह गरे। ठमेलभित्र आठ हजार ५०० व्यवसायी र ६० हजार बढीले रोजगार पाएको उनको भनाइ छ।

दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जय अधिकारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउन २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए। उनले दरबारमार्गलाई लामो समयदेखि २४सै घण्टा खुलाउन प्रयास गरे पनि उक्त प्रयासले भर्खर मात्र सार्थकता पाएको बताए। 

महेन्द्र शालिकबाट नारायणहिटी दरबार सङ्ग्रहालयसम्म खुला हुने दरबारमार्गमा २०० व्यवसायी र ६ हजार व्यक्तिले रोजगार पाएको उनको भनाइ छ। शहरको वातावरणलाई पर्यटकको अनुकूल बनाउँदै जान सके मात्र लगानी अनुरूप प्रतिफल प्राप्त गर्न सकिने बताइएको छ।

ठमेल र दरबारमार्गबाट शुरू भएको २४ घण्टा सञ्चालन गर्ने अभियानलाई विस्तारै देशका विभिन्न सहरमा लगिने विश्वास उनले व्यक्त गरे।