आईपीएल: बेंगलुरुमाथि मुम्बईको सानदार जित

घरेलु टोली मुम्बईले जितका लागि पाएको १९७ रनको लक्ष्य १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

काठमाडौँ– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले पराजित गरेको छ।

बिहीबार राति तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङसँगै शीर्षक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बईले जारी प्रतियोगितामा दोस्रो जित तर्दा गरेको हो। 

वानखडे स्टेडियममा घरेलु टोली मुम्बईले जितका लागि पाएको १९७ रनको लक्ष्य १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। मुम्बईका ईशान किशनले ३४ बलमा सर्वाधिक ६९ रन बनाए।

सूर्यकुमार यादवले १९ बलमा ५२ रन, रोहित शर्माले २४ बलमा ३८ तथा हार्दिक पान्ड्याले २१ रनको योगदान दिए। 

बेंगलुरुका आकाश दीप, विजयकुमार वैश्यक र विल ज्याक्सले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलुरुले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। बेंगलुरुका कप्तान फाफ डु प्लेसिसले ४० बलमा सर्वाधिक ६१ रन बनाएका थिए।

रजत पाटिदारले २६ बलमा ५० रनको योगदान दिए। दिनेश कार्तिक २३ बलमा ५३ रनमा नटआउट रहे। 

मुम्बईका जस्प्रित बुमराहले २१ रन खर्चेर ५ विकेट लिए। जेराल्ड कोट्जी, आकाश माधवाल र श्रेयस गोपालले समान १/१ विकेट लिए।