ब्राजिलमा वार्षिक २० मिलियन टन खाद्य फोहोर, खाना नफाल्न आह्वान

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) ले हालै सार्वजनिक गरेको खाद्य असुरक्षा सूचकांक प्रतिवेदनअनुसार विश्वभर ७८ करोड ३० लाख मानिसले पर्याप्त खाना पाउन सकेका छैनन्।

जनसंख्याका हिसाबले विश्वमा छैटौँ स्थानमा रहेको ब्राजिलमा वर्ष २० मिलियन टन खाद्य फोहोर उत्पादन हुने छ। तर करिब दुई करोड ७० लाख जनता भने खाद्य असुरक्षाको चपेटामा छन्। खाद्य फोहोरले पर्यावरणमा समेत असर पुर्‍याउने भएकाले खाना नफाल्न सरोकारवालाले आग्रह गरेका छन्।

१९ वर्षको उमेरमा रेजिना चाइलीले उत्तरपूर्वी ब्राजिलस्थित घर छाडेर राजधानी रियो दि जेनेरियो गएकी थिइन्। उनको सपना थियो प्रसिद्ध शेफ बन्ने।

चाइलीलाई सानैदेखि खाना खेर नफाल्न सिकाइएको थियो। त्यहाँ पुगेपछि पसलले खानेकुरा पनि सडकमा फालेको देखेर उनी दुःखी भइन्। यसले चालीलाई केही फरक गर्ने सोच आयो। उनले घरमा काम गर्ने, कामबाट बचेको खानेकुरा लिएर त्यसबाट केरा र अदुवाको रोटी र ब्रोकाउलीको डाँठबाट बनेको ‘किस’ जस्ता नयाँ परिकार बनाउन थालिन्। यो अनुभवले पछि उनलाई फाभेला अर्गानिका नामक कम्पनी स्थापना गर्न प्रेरित गर्‍यो। यस संस्थामार्फत, हजारौँ कम आय भएका व्यक्ति, सडक बिक्रेता र खाना पकाउनेहरूले खानाको बर्बादी रोक्न, भोकको सामना गर्न र खाद्य फोहोरबाट हुने विनाशकारी वातावरणीय प्रभावलाई कसरी समाधान गर्ने भनेर सिकेका छन्।

अहिले ४२ वर्षकी चाइली भन्छिन्, “खानालाई पटक्कै फाल्न हुँदैन। जसका कारण पृथ्वीलाई हानि पुर्‍याइरहेका छौँ। हामीले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ।”

चाइली ब्राजिलको एउटा अभियानको महत्त्वपूर्ण व्यक्ति हुन्। उनी खाद्यान्नको फोहोर रोक्नका लागि काम गर्दै आएकी छिन्। “यहाँ, मानिसलाई सिकाइएको छ कि कसरी स्वस्थ खाना र दिगो बानीले हाम्रो स्वास्थ्य र ग्रह दुवैलाई फाइदा पुर्‍याउन सक्छ।” 

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) ले हालै सार्वजनिक गरेको सन् २०२४ को खाद्य असुरक्षा सूचकांक प्रतिवेदनअनुसार विश्वभर ७८ करोड ३० लाख मानिसले पर्याप्त खाना पाउन सकेका छैनन्।

तर यसका बाबजुद पनि घरपरिवारले झन्डै एक अर्ब मानिसलाई दैनिक खुवाउन पुग्ने खाना खेर फाल्छन्। विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनको लगभग आठदेखि १० प्रतिशत खाद्य उत्पादन र खारेज गरिएको खानाले ओगट्ने गरेको छ।

यूएनईपीको जलवायु परिवर्तन न्यूनीकरण शाखाका प्रमुख रुथ जुग्म्यान डो काउटो भन्छिन्, “खाद्य असुरक्षा मात्र नभई जलवायु परिवर्तन, प्रकृति र जैविक विविधताको हानी, प्रदूषणलगायत खतरालाई पनि सम्बोधन गर्न खाद्यान्नको फोहोर घटाउन आवश्यक छ । ग्रह संकटसँग लड्न आवश्यक छ।”

सन् २०१० मा ब्राजिलले ठोस फोहोरबारे राष्ट्रिय नीति बनायो। जसले नगरपालिकालाई कम्पोस्टिङ प्रणाली स्थापना गर्न बाध्य पारेको थियो। यद्यपि, कानूनले खाद्यान्नको बर्बादी रोक्नको लागि उपाय भने निर्दिष्ट गरेको छैन।

ब्राजिलले अहिले खाद्य फोहोर घटाउने र कम्पोस्टिङसम्बन्धी नयाँ राष्ट्रिय नीतिको मस्यौदा तयार भइरहेको छ। यो सन् २०२५ को शुरूदेखि लागू हुने अनुमान गरिएको छ। नीतिले खाद्यान्नको बर्बादी रोक्न र कम्पोस्टिङ परियोजना कार्यान्वयन गर्न देशभरका मेयर र अन्य सम्बन्धित सरोकारवालालाई दिशानिर्देश गर्नेछ।

ब्राजिलले गोलाकार अर्थतन्त्रमा आफ्नो पहिलो राष्ट्रिय रणनीति पनि विकास गरिरहेको छ। उक्त रणनीति उत्पादन, वितरण र उपभोगको समयमा फोहोर कम गर्न खाद्य प्रणालीमा सुधार गर्नमा केन्द्रित हुनेछ ।

ब्राजिलका शहरी वातावरण र वातावरणीय गुणस्तरका राष्ट्रिय सचिव एडलबर्टो मालुफ भन्छन्, “यूएनईपीको सहयोगमा, हामीले केन्द्रीय सरकारले एकताबद्ध प्रयासमार्फत यस समस्याको बारेमा सबैलाई सचेत गराउन आवश्यक छ भनेर बुझ्न सक्षम भयौँ। हामीले हाम्रो खानाको २२ प्रतिशत भन्दा बढी बर्बाद गर्दैछौंँ। त्यसैले, कडा कानूनबिना कहिल्यै भोक अन्त्य गर्ने लक्ष्यमा पुग्न सक्दैनौँ।”