अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लाप्चा जातिको वेशभूषा प्रदर्शन, सांस्कृतिक झाँकी प्रदर्शन, सांगीतिक कार्यक्रम, खाद्य परिकारका स्टललगायत महोत्सवका आकर्षण रहेका छन्।
फिक्कल– सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा ‘अन्तु पर्यटन महोत्सव’ शुरू भएको छ। सूर्योदय नगरपालिकाले आयोजना गरेको महोत्सव शनिबारसम्म चल्नेछ।
नगरका उपप्रमुख दुर्गाकुमार बरालका अनुसार महोत्सवको पहिलो दिन शुक्रबार ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिनाले’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र सांगीतिक कार्यक्रम राखिएको छ।
शनिबार अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र सांगीतिक कार्यक्रमलगायत राखिएको छ।
महोत्सवमा कलाकार यम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ। नगरपालिकाले लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक कार्यक्रमसमेत राखिएको उनले बताए।
“पर्यटकीय नगरी सूर्योदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो,” उपप्रमुख बरालले भने, “यसले अन्तुको मात्र नभई समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा छ।”
महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा होमस्टे, होटल र कटेजमा व्यवस्थापन गरिएको छ। जहाँ पाँच हजार जनाले रात बिताउन सक्नेछन्। महोत्सवमा १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको छ। खर्चा १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, विभिन्न हिमशृंखलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुंगा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्किने गरेका छन्। यसका साथै चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोतसाधनको प्रयोग गरी थुम्काथुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृतिसमेत पर्यटकका रोजाइ बन्ने गरेका छन्।
अन्तुडाँडामा हिउँद वर्षा दुवै याममा पर्यटकको बाक्लो उपस्थिति हुन्छ। अहिले दैनिक तीन हजारदेखि चार हजारको संख्यामा पर्यटक सूर्योदय दृश्यावलोकनका लागि अन्तुडाँडा पुग्ने गरेका छन्। सबैभन्दा धेरै शनिबार पर्यटकको घुइँचो लाग्ने गरेको श्रीअन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले बताए।
सामान्यतया असोज पहिलो सातादेखि मंसिर मसान्तसम्म र फागुन पहिलो सातादेखि वैशाख मसान्तसम्म सूर्योदय दृश्यावलोकनका लागि आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ। समुद्र सहतबाट दुई हजार ३०० मिटर उचाइमा अवस्थित अन्तुडाँडा सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । यहाँ नेपाल, भारत तथा तेस्रो मुलुकबाट पर्यटक आउने गरेका छन्।
अन्तुसम्म पुग्न मोटरसाइकल तथा चारपांग्रे सवारी सञ्चालनमा आएपछि पर्यटकलाई थप सहजता मिलेको छ। सूर्योदय नगरपालिको प्रशासनिक केन्द्र फिक्कल बजारबाट १३ किलोमिटर यात्रापछि श्रीअन्तु पुगिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
