तनहुँमा चैतेधान प्रवर्द्धन गर्न कृषकलाई अनुदान

धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले बताए। 

तनहुँ– कृषि ज्ञानकेन्द्र तनहुँले चैतेधानखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान दिएको छ। चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो। 

किसानलाई चैतेधानखेतीमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम लागू गरिएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए। जमिन बाँझो राख्ने क्रम बढेपछि ठूलो परिमाणमा भारतबाट चिउरा र चामल आयात गर्नुपर्ने बाध्यता भएकाले चैतेधान प्रवर्द्धन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

ढुवानी, बीउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ। कार्यालयले अनुदान दिन थालेपछि चैतेधान खेतीमा किसानको आकर्षण बढेको कार्यालयले जनाएको छ। 

धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी परियारले बताए। 

उनका अनुसार जिल्लाको पाँच हजार ३६ रोपनी जमिनमा चैतेधानखेती गर्न १५ वटा कृषक समूह तथा सहकारी समावेश गरिएको छ। उक्त समूह र सहकारीलाई ६ टन धानको बीउ अनुदानमा वितरण गरिएको छ। 

कार्यक्रमका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भई कृषक समूह तथा सहकारीसँग सम्झौता गरिएको छ। कार्यक्रमअन्तर्गत धान चुट्ने थ्रेसर, खेत जोत्ने मिनीटिलर तथा ट्र्याक्टरमा अनुदानको व्यवस्था गरिएको छ। 

सबैभन्दा धेरै बजेट ८२ लाख ५० हजार सिँचाइका लागि विनियोजन गरिएको छ। चैते धान विशेष गरी चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।