कितियाले खिचेका हिउँ चितुवाका तस्वीरहरू 'फेक' भएको दाबी

नेपालको हिमाली क्षेत्रमा खिचिएको भनिएका हिउँ चितुवाका तस्वीरहरू 'फेक' भएको दाबी गरिएको छ।

तस्वीर : अलपाइन म्यागजिन

काठमाडौँ– अमेरिकी फोटोग्राफर कितिया पावलोब्स्कीले नेपालको हिमाली क्षेत्रमा खिचेको भनिएका हिउँ चितुवाका तस्वीरहरू ‘फेक’ भएको अलपाइन म्यागाजिनको दाबी छ। केही समयअघि नेपालको हिमाली क्षेत्रमा खिचिएको भनिएको दुर्लभ हिउँ चितुवाका तस्वीरहरू चर्चित भएका थिए।

विभिन्न चर्चित सञ्चारमाध्यमले कितियाको तारिफ गर्दै तस्वीरहरू प्रकाशित गरेका थिए। तर, फ्याक्ट चेकका क्रममा ती तस्वीरहरू फोटोसप गरेर बनाइएको पाइएको अलपाइन म्यागाजिनले दाबी गरेको छ। अलपाइनले तस्वीरहरूको फ्याक्ट चेक गरेर विश्लेषणात्मक समाचार प्रकाशित गरेको छ। जसमा उनले ती तस्वीरहरू फोटोसपका माध्यमबाट जोडजाड गरेर तयार पारिएको दाबी गरिएको छ।

त्यस्तै, समाचारमा फोटोग्राफर र उनले चलाएका सामाजिक सञ्जालका बारेमा पनि शंका गरिएको छ। उनले आफ्ना सामाजिक सञ्जालमा अपलोड गरेका तस्वीर र उनको परिचयका विषयलाई लिएर प्रश्न उठाइएको छ। हिउँ चितुवाका तस्वीरहरूबाहेक अन्य कुनै तस्वीर नभेटिनु र वाइल्डलाइफ फोटोग्राफहरूको माझमा उनको परिचय नखुल्नुलाई लिएर उनीमाथि आशंका गरिएको हो।

अलपाइनले लेखेको छ, "चार फोटो। केवल चारवटा, कुनै परिचय वा इतिहासबिना। तिनीहरूमा कितिया पावलोब्स्की आफूलाई एक अमेरिकी फोटोग्राफर भएको दाबी गर्छन्। तर, वाइल्डलाइफ फोटोग्राफीको क्षेत्रमा कसैले पनि उनका बारेमा सुनेका छैनन्। सामान्य माउन्टेन फोटोग्राफीको क्षेत्रमा पनि त्यस्तै छ। कहिलेकाहीँ भर्खरै फोटोग्राफी शुरूवात गर्नेहरूको पनि भाग्य चम्किन्छ, त्यस्तैमा हिउँ चितुवाका केही शटहरू लिन पाउलोस्की भाग्यमानी ठहरिन सक्छिन्। यद्यपि, हिमाली क्षेत्रमा वर्षौं बिताएका मानिसहरूले मुस्किलले एक झलक मात्रै देख्न सक्ने जनवार हो, हिउँ चितुवा। तर, समस्या तस्वीरहरूको प्रकृति, तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ। अर्को शब्दमा भन्दा तिनीहरूको सत्यतामा।"

समाचारमा दाबी गरिएको छ, "पावलोब्स्कीका तस्वीरहरू उत्कृष्ट छन्, तर तिनीहरू फोटोशपजस्ता सफ्टवेयर प्रयोग गरेर धेरै छविहरूबाट सिर्जना गरिएका रचनाहरू हुन्।" अलपाइनले कितिया फोटोसपको विज्ञ भएको पनि दाबी गरेको छ।

कितियाले खिचेका भनिएका दुर्लभ हिउँ चितुवाका तस्वीरहरू काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत केही दिनअघि सार्वजनिक गरेको थियो।

कितियाले तस्वीरहरू सार्वजनिक गर्दै आफ्नो ब्लगमा हिउँ चितुवाका पाइला पछ्याउँदाका संघर्षका बारेमा उल्लेख गरेकी छन्। उनले ब्लगमा हिउँ चितुवाको तस्वीर खिच्न सगरमाथा क्षेत्रको मुटु काप्ने चिसोमा ११ किलो वजनको क्यामेरा लिएर संघर्षपूर्ण यात्रा गरेको दाबी गरेकी छन्। "हिउँ चितुवा खोजीका लागि गरेको यात्रा सबैभन्दा कठिन थियो। तर, मलाई उक्त यात्रामा खिचेका तस्वीरहरूले सबैभन्दा बढी आत्मसन्तुष्टि दिएको छ,” उनले आफ्नो ब्लगमा लेखेकी छन्।