सिरुटार, बालकोटका बासिन्दाले त्यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन्।
भक्तपुर– परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा शुरू भएसँगै शनिबार भक्तपुरमा सञ्चालन हुने थरीथरीका जात्रा हेर्नेको भीड लागेको छ।
भेलुखेलस्थि ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिंगो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट मानिसहरू आएका छन्। ५५ हात लामो, नांलो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिंगोजात्रा हेरे मनोकांक्षा पूरा हुने, शत्रुनाश हुने सहकाल आउने जनविश्वास छ। चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाउने र दिनभर मेला सञ्चालन गरी साँझ लिंगो ढालिन्छ।
चरखण्डी र गुप्तेश्वरमा रातिदेखि नै भीड
भक्तपुरको दधीकोट र सिरुटारको संगमस्थलमा रहेको चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे रोग नाश भई काम सफल हुने जनविश्वास रहेको संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताए।
किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवीशक्तिका कारण पुनःजीवित भएर उडेको थियो। यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको उनले जानकारी दिए। यही विश्वासले यहाँको कुण्डमा स्नान गर्नेको बिहान ४ बजेदेखि नै भीड लागेको छ।
प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाले शरीरमा बत्ती बालेर बसेका छन्। शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने विश्वास गरिन्छ। यस मन्दिरमा बिहान ५ बजेदेखि नै तीन वटा खटसहितको खट जात्रासमेत गरिएको छ। दधीकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ।
सिरुटार, बालकोटका बासिन्दाले त्यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन्। धिमे बाजाका साथ खटलाई गुप्तेश्वर महादेव मनिदर परिसरमा विधिपूर्वक पूजा गरी शुरू भएको खट जात्रा सिरुटारदेखि बालकोटसम्मको टोलटोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको स्थानीय भाइकृष्ण श्रेष्ठले जानकारी दिए।
त्यसैगरी दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा निकालिएको छ।
थिमिमा चान्हेसिया
चैत मसान्तको दिन साँझ शुरू भई रातभर सञ्चालन हुने चान्हेसिया अर्थात् रात्रिको जात्रा शनिबार बिहान थिमिमा सम्पन्न भएको छ। मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रा शुक्रबार साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई शुरू गरिएको थियो।
चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलस्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ। त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ।
जात्रामा थिमिको अधिंकाश घरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शङ्खधर चोक हुँदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो। त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याएर पाँचपटक परिक्रमा गराएपछि सोही स्थानमा आआफ्नो आसनमा खटहरूलाई राखेपछि जात्रा सम्पन्न भएको थियो।
थिमिमा विष्णुवीर सिद्धिकाली जात्रा
मध्यपुरथिमिका बासिन्दाले विष्णुवीर एवं सिद्धिकाली जात्रा सम्पन्न गरेका छन्। विष्णुवीरलाई सुंगा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाँकाल, भुलाँखेल, चोडे, शिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुँगाटोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमा परिक्रमा गराइएको थियो।
बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितका देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुँगाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको छ।
सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमिको हात्ती महांकाल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पुर्याइ स्वंगापुखुको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ। त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायत अन्य देवगणलाई सिन्दुर चढाई आआफ्नो स्थानमा विराजमान गराएपछि जात्रा विसर्जन गरिने परम्परा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
