पर्यटन र कृषिमार्फत आत्मनिर्भर बन्दै चामे

मनाङको मुख्य केन्द्रका रूपमा रहेको चामे गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रको माध्यमबाट नै आत्मनिर्भर हुने लक्ष्य लिएको छ।

मनाङ– हिमाली जिल्ला मनाङ पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ। यस ठाउँको आयस्रोत नै पर्यटन र कृषि मानिन्छ। मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण छ।

मनाङको मुख्य केन्द्रका रूपमा रहेको चामे गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रको माध्यमबाट नै आत्मनिर्भर हुने लक्ष्य लिएको छ। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्पष्ट योजना बनाएर नै पालिकाको विकास र समृद्ध बनाउन सकिने बताए।

“पालिकावासीलाई आत्मनिर्भर बनाउन आवश्यक छ, कसरी पालिकालाई समृद्ध बनाउन सकिन्छ भनेर आवश्यक योजना निर्माणकै चरणमा छौँ,” उनले भने। सबै क्षेत्रमा काम गरिरहेका भए पनि दिगो र भरपर्दो योजना अझै निर्माण गरी नसकेको उनले बताए। 

यहाँको विकासका लागि कृषि र पर्यटन क्षेत्र भएको अध्यक्ष घलेले बताए। यसका साथै सडक सञ्जालको विकास पनि आवश्यक रहेको उनको भनाइ छ। पालिकाको विकासमा शिक्षा र स्वास्थ्यको पनि उत्तिकै महत्त्व छ। “स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर महत्त्व दिनुपर्छ। जिल्लाकै केन्द्र र विद्यार्थीको शैक्षिक उन्नयनका लागि पालिकाभित्र दुई आवासीय विद्यालय सञ्चालनको तयारी छ। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएको अवस्थामा गुणस्तरीयता कायम गर्ने भूमिकामा पालिका लागिपरेको छ,”  उनले भने।

पर्यटकीय याम शुरू भए पनि धुलाम्मे सडकका कारण पर्यटकले सास्ती बेहोर्नुपरेको छ। पर्यटन प्रवर्द्धन गर्न वैकल्पिक पदमार्ग निर्माण गरिरहेको अध्यक्ष घलेले बताए। “वडा नं १ र २ मा लगभग सम्पन्न भइसकेको छ। वडा नं ३ र ४ मा योजना बनाउँदै छौँ। ४ नं वडाको कजिनसरा ताललाई प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण तथा धर्मशाला बनाउँदै छौँ,” उनले भने। बाह्य पर्यटकलाई आकर्षित गर्नकै लागि पूर्वाधार निर्माणका काम भइरहेका अध्यक्ष घलेले बताए।

विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिएको पर्यटकीय दृष्टिकोणबाट महत्त्वपूर्ण गन्तव्य अन्नपूर्ण पदमार्ग र तिलिचो ताल मानिन्छ। यहाँ आउने पर्यटकमार्फत नै आयस्तर वृद्धिमा जोड्न सक्नुपर्ने उनको भनाइ छ। 

यस क्षेत्रको मुख्य आकर्षक त्यहाँबाट देखिने हिमशृंखला, ताल एवं सांस्कृतिक स्वरूप र प्राचीन बौद्ध गुम्बा, वनजंगल र जातजातिको एकता नै हुन्। चामेमा अवस्थित पर्यटकीय दृष्टिले महत्त्वपूर्ण प्राकृतिक सम्पदा लमजुङ हिमाल, काजिन सरा (सिंगर) ताल, तातोपानी कुण्ड, पदमार्ग, लालीगुराँस बगैँचालगायत प्राकृतिक सौन्दर्यताका विषयमा पर्यटकलाई जानकारी दिने योजनाअनुसार काम गरिरहेको अध्यक्ष घलेले बताए। 

मनाङ उच्च हिमाली भएकाले यहाँ स्थानीय रूपमा स्याउ, आलु, फापर, जौ, गहुँ, करु र उवा उत्पादन हुन्छ। यहाँको उत्पादनले बढीमा तीन महिना मात्रै खान पुग्छ। अध्यक्ष घलेले भने, “पर्यटकलाई अर्ग्यानिक खुवाउन मुस्किल छ। कृषिलाई प्रवर्द्धन गर्नु आवश्यक ठानेका छौँ। यहाँको उत्पादन कम समयका लागि पुग्ने हुँदा बाहिरबाट किनेर खुवाउन बाध्य छौँ। अर्ग्यानिक खानालाई प्राथमिकतामा राखेर कृषि प्रवर्द्धन गरी कृषितर्फ पालिकावासीलाई आकर्षित गर्नेतर्फ योजना बनाएका छौँ।” स्थानीय उत्पादन भएन भने पर्यटक आउने बस्ने, बाहिरकै खानेकुरा खाएर पठाउन बाध्य हुने उनको भनाइ छ। 

स्थानीय उत्पादन खाद्यवस्तु उत्पादन गर्न नसक्दा बाहिरी वस्तु ल्याएर काम पकाउने र दिने मात्रै भएको अध्यक्ष घले सुनाउँछन्। उनले भने, “यहाँ प्रत्येक वर्ष लाखौँ पर्यटक भित्रिन्छन्। तर ती पर्यटकलाई यहीँको उत्पादन खुवाउन सकिएको छैन। यो दुःखको विषय हो। पर्यटकलाई यहीँको उत्पादन खुवाउन सकियो भने नागरिकको आर्थिक अवस्था उकासिन्छ। त्यसैले उत्पादनलाई जोड दिइरहेका छौँ।” खाद्यवस्तु सञ्चितिका लागि अहिले चामेमा चिस्यान केन्द्र स्थापना गरिएको उनले जानकारी दिए। 

सामूहिक खेतीलाई प्राथमिकता दिएको अध्यक्ष घलेले बताए। निकट भविष्यमै चामेमा कृषि उपज संकलन केन्द्र बनाउने योजना बनाइएको उनले बताए। कृषि र पर्यटनलाई मुख्य जीविकोपार्जन र आर्थिक विकासको स्रोतका रूपमा विकास गर्ने योजना बनाइएको उनले बताए यस दीर्घकालीन सोचले गाउँपालिकालाई स्वच्छ, सहज, सफा, पर्यटकीय तथा गरिबीमुक्त र समृद्ध गाउँपालिकाका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष घलेले सुनाए।

चामे–३ का वडा अध्यक्ष विनोद लामाले विकट तर पर्यटकीय स्थान भएकाले यसलाई प्राथमिकता दिएर योजना निर्माण गरी आयसँग जोड्ने प्रयासमा रहेको बताए। चामे–४ का वडाध्यक्ष लबसाङ लामाले यहाँका पर्यटकीय गन्तव्यको खोजी तथा प्रवर्द्धन गरी पर्यटन क्षेत्रको विकाससँगै आयस्रोत बढाउन योजना बनाएर अगाडि बढेको बताए। विकट क्षेत्र, पूर्वाधार अभाव तथा सम्बन्धित विषयसँग विज्ञ ल्याउन खर्चिलो हुँदा पनि यहाँका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुन सकेको छैन। यस्ता विकट क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको खोजी तथा प्रवर्द्धन गर्न सके देशकै आर्थिक वृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ छ।