कांग्रेसले बोलायो संसदीय दलको बैठक

सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको हो।

“नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मिति २०८१।१।२ गते बिहान ७ः३० बजे र नेपाली कांग्रेस संसदीय दलको बैठक सोही दिन बिहान ८ः०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ,” कांग्रेस संसदीय दलको सचिवालयबाट जारी सूचनामा भनिएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो। शुक्रबार मन्त्रिपरिषद् बैठकले आइतबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। 

कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै सदनमा विरोध जनाइरहेका बेला सरकारले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो 

त्यस्तै आइतबार नै सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बस्ने भएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बस्ने गरी बैठक बोलाइएको हो। 

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ।