इजरायलमा इरानको आक्रमण, २०० भन्दा बढी मिसाइल प्रहार

आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक दुवै ढंगले जवाफ दिने बताएका छन्।

इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको छ। इरानले २०० भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

इजरायली सेनाले भने आक्रमण ठूलो मात्रामा नभएको दाबी गरेको छ। इरानले प्रहार गरेका मिसाइलहरू आकाशमै नष्ट गरेको इजरायली सेनाले जनाएको छ। 

आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक ढंगले जवाफ दिने बताएका छन्। उनले भनेका छन्, “हामी रक्षात्मक र आक्रामक दुवै परिस्थितिका लागि तयार छौँ।”

इरान र इजरायल पुनः एक पटक आमनेसामने हुँदा विश्वको ध्यानाकर्षण भएको छ। अमेरिकाले इजरायली नागरिकलाई सुरक्षा दिने बताउँदै इरानले गरेको आक्रमणको निन्दा गरेको छ। यस हमलालाई लिएर अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उल्टै अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन्।

यसै वर्ष हुने राष्ट्रपतीय चुनावको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पले बाइडेनप्रति लक्षित गर्दै ‘म राष्ट्रपति भएको भए इजरायलमाथि आक्रमण हुने थिएन’ भनेका छन्।