सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीको दाबी पेश

नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

काठ‍माडौँ– नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनले प्रदेश प्रमुख नाजिर मियाँसमक्ष आइतबार प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गरेका हुन्।

उनले नागरिक उन्मुक्तिका सात, नेपाली कांग्रेसका १८ र नेकपा एकीकृत समाजवादी पार्टीका चार सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन्। ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ।

प्रदेशप्रमुख मियाँसमक्ष पेश गरिएको पत्रमा नागरिक उन्मुक्ति प्रदेशसभा दलका नेता धनश्याम चौधरी, कांग्रेस प्रदेशसभा दलका नेता कमलबहादुर शाह र एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारीले संविधानको धारा १६८ को उपधारा (२)बमोजिम चौधरीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न अनुरोध गरेका छन्।

यसअघि कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख मियाँले गत चैत २३ गते १० दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सरकार गठनका लागि आह्वान गरेका थिए।