नेप्से परिसूचक २.३५ अंकले घट्यो, ३ अर्बको कारोबार

सिर्जनशील लघुवित्तको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झिनो अंकले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.३५ अंकले ओरालो लागेर २०२३.३५ मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०१ अंकले उकालो लागेर ३५८.२० मा पुगेको छ।

विभिन्न कम्पनीका कुल ७७ लाख ९५ हजार ३३ कित्ता शेयर तीन अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँ कारोबार भएको छ। कारोबार भएकामध्ये आइतबार १२७ कम्पनीको शेयर मूल्य उकालो लागेको छ। यस्तै, १०८ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

नेप्सेका अनुसार सिर्जनशील लघुवित्तको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ। साथै एनआईसी एशिया लघुवित्तको शेयर मूल्य ९.७२, डोल्टी पावर कम्पनी ९.३५, राप्ती हाइड्रोपावर ९.२३ र मिथिला लघुवित्तको शेयर मूल्य ८.७० प्रतिशत बढेको छ।

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। साथै हिमालयन बैंकको सामूहिक लगानी कोष ४.४१, तेह्रथुम पावर कम्पनी ४.३८, तारागाउँ रिजेन्सी होटल ३.९३ र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर मूल्य  ३.९१ प्रतिशतले घटेको छ।