सट्टेबाजीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आईपीएस खाता खोलेर ९८ वटा बैंक लिंक गरी ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।

काठमाडौँ– विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप वानएक्स बेटमार्फत रकम लेनदेनमा सक्रिय रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा–९ का ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र मलंगवा–१० का राकेश चौधरी छन्।

उनीहरूले बेटिङका साथै क्रिप्टोकरेन्सीसहित विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आईपीएस खाता खोलेर ९८ वटा बैंक लिंक गरी ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

उनीहरूका साथबाट विभिन्न कम्पनीका नौ थान मोबाइल सेट, २१ वटा सिम कार्ड, दुइटा ल्यापटप, डेस्कटप कम्प्युटरको एउटा सीपीयू, नगद ६२ हजार, विभिन्न सहकारीका ११ थान पासबुक, बैंकका १६ थान चेकबुक, ११ वटा डिपोजिट भौचर बरामद भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

बेटिङ एप वानएक्स बेटमार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने, गराउने तथा क्रिप्टोकरेन्सी ट्रडिङ गर्ने कार्यमा सक्रिय एजेन्ट रहेको भन्नै सूचनाका आधारमा कार्यालयबाट खटिएको टोलीले सर्लाहीको विभिन्न स्थानमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत कारबाही अघि बढाइने जनाइएको छ। तीनै जनालाई अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ।