एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा ६ वटा प्रतिवेदन पेश हुने

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा सञ्चालन हुने भएको छ।

काठमाडौँ– सत्तारुढ दल नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा सञ्चालन हुने भएको छ। एमाले परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सञ्चालन हुने भएको हो।

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले परिषद् बैठकको कार्यसूचीसमेत तय गरेको छ। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार परिषद् बैठकमा ६ वटा प्रतिवेदन पेश गर्ने तयारी छ।

“हामी राष्ट्रिय महाधिवेशन प्रतिनिधिको पहिलो बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही वैशाख ८ गते बिहान ११ बजे शुरू हुनेछ। त्यो बैठकमा महाधिवेशनका प्रतिनिधिहरू दुई हजार १५३ जना सहभागी हुनुहुनेछ। त्यस्तै, पार्टीका विभिन्न आयोगका प्रतिनिधि पनि सहभागी हुनेछन्,” उनले भने। परिषद्को बैठकमा करिब दुई हजार ५०० जना सहभागी हुने उनको भनाइ छ।

सो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले संगठनात्मक पेश गर्ने छन्। त्यस्तै, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्ले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने छन्। बैठकमा आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउनेबारेमा छलफल हुने पनि उनको भनाइ छ।

एमाले सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको निष्कर्ष निकालेको पनि उनले बताए। सरकारले जनतालाई अझ विश्वास जगाउने काममा गति ल्याउनुपर्ने उनको भनाइ थियो 

सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्रीको राजीनामा माग्नु हास्यास्पद रहेको टिप्पणी गरे। त्यस्तै, कोशी प्रदेश सरकारको सन्दर्भमा उपमहासचिव ज्ञवालीले मुख्यमन्त्रीले बहुमत गुमाइसकेकाले नयाँ सरकार बनाउने बाटो खोलिदिनुपर्ने धारणा राखे।