डिभिजन वन कार्यालय, झापाका प्रमुख मेघराज राई भन्छन्, ‘मकै हात्तीको मनपर्ने खाना हो। जति यसको खेती बढ्यो उति हात्तीको संख्या र क्षति बढिरहेको हाम्रो अनुसन्धानले देखाएको छ।’
झापा– सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि किसानलाई प्रोत्साहन गर्न मकै जोन शुरू गरेसँगै जिल्लामा हात्तीको समस्या बढेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।
कार्यालयका प्रमुख मेघराज राईले हात्तीलाई मनपर्ने खानामध्ये मकै पनि भएका कारण जिल्लामा जनधनको क्षति बढेको बताए। उनले विगत पाँच वर्षयता जिल्लामा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न स्थानमा मकैको पकेट, ब्लक र जोन क्षेत्र नै घोषणा गरी किसानलाई अनुदान उपलब्ध गराएर मकैको व्यावसायिक खेती गरिरहेको बताए।
“जति क्षेत्र विस्तार भयो उति नै हात्तीको समस्या बढिरहेको छ,” उनले भने, “मकै हात्तीको मनपर्ने खाना हो। जति यसको खेती बढ्यो उति हात्तीको संख्या र क्षति बढिरहेको हाम्रो अनुसन्धानले देखाएको छ।”
उनले सोबारेमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराइसकिएको पनि बताए। जिल्लामा बढिरहेको हात्ती समस्या न्यूनीकरणका लागि बाली परिवर्तन अनिवार्य देखिएको उनको भनाइ थियो। उनले विगतमा पनि मकै खेतीकै कारण वैशाख पहिलो सातादेखि असारको तेस्रो हप्तासम्म जिल्लामा भारतबाट आउने जंगली हात्तीसमेत थपिएर आतंक मच्चाउने गरेको जानकारी दिए। जिल्लामा ३० भन्दा बढी रैथाने हात्ती रहेको छन्।
प्रमुख राईका अनुसार हाल दैनिक सातदेखि आठ वटा राहतका लागि निवेदन लिएर कार्यालयमा हात्ती पीडित किसान आउने गरेका छन्। विसं २०८० असार ८ गतेदेखि हालसम्म जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका ६ जना, घर र बालीनालीमा क्षति पुर्याएको ५३३ र घाइते गरी एक करोड ३० लाखभन्दा बढी रकम जिल्लामा राहत स्वरूप बाँड्न बाँकी रहेको छ।
यसैगरी, बुद्धशान्ति गाउँपालिकाका किसान जंगली हात्तीले दैनिक जसो पुर्याउने क्षतिबारे राज्य बेखर बनेको भन्दै आक्रोषित बनेका छन्। स्थानीय सीताराम बाँस्तोलाले सरकारले हात्ती न्यूनीकरणमा देखाएको उदासीनताका कारण आफूहरू मारमा परेको गुनासो गरे। उनले सो पालिकामा मात्र दैनिक जसो साँझ परेपछि आउने जंगली हात्तीले १० बिघाभन्दा बढी क्षेत्रको मकै खेती खाएर र कुल्चेर नष्ट गरेको बताए।
स्थानीय आदर्श सामुदायिक वनमा बस्ने हात्तीले साँझ परेपछि गाउँबस्तीमा पसेर बालीनाली नष्ट गर्ने गरेको उनको गुनासो छ। उनले मकै खान आएको हात्तीलाई लेखेट्न खोज्यो भने उल्टै मानिसलाई नै आक्रमण गर्न आउने गरेको बताए। “हात्ती थेत्तरो भइसकेछ,” उनले भने, “पहिला पहिला त होहल्ला गर्दा भाग्थ्यो। अहिले त उल्टै हामीलाई नै आक्रमण गर्न फर्कन्छ।”
उनले सरकारले हात्ती प्रभावित क्षेत्रमा साइसनसहितको गाडीले गस्ती गर्ने हो भने पनि स्थानीयलाई राहत हुने बताए। उनले समस्याका बारेमा पटक–पटक स्थानीय सरकार र डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराउँदा अटेर गरेका कारण हात्ती पीडित मिलेर आन्दोलन गर्ने तयारी गरिरहेको सुनाए। “शान्तपूर्वकको मागलाई कसैले सुन्दो रहेनछ” उनले भने, “सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आन्दोलन नै रोज्नुपर्ने परिस्थितिको सिर्जना भइसक्यो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
