गोरखाको बारपाक सुलिकोट–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जी तीन दशकयता कटुवाल पेसा गर्दै आएका छन्भ। हजुरबुबा र बुबाले गरेको पेसालाई उनले पनि निरन्तरता दिएका हुन्।
गोरखा– नेपाली समाजमा पहिला–पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घर–घरमा सूचना पुर्याउन कटुवाल राख्ने चलन थियो।
मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा पर्ने अलि अग्लो डाँडामा गएर कटुवाल कराएपछि त्यसैलाई गाउँलेले आधिकारिक सूचना मान्ने चलन थियो। उक्त चलन अब भने केही ठाउँमा मात्र कायम छ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जीले कटुवाल पेसा गर्दै आएको तीन दशकभन्दा बढी भइसक्यो। हजुरबुबा र बुबाले गरेको पेसालाई पछ्याउँदै उनी पनि उमेरमै कटुवाल पेसामा जोडिए।
माइकोट मन्दिरमा गरिने विशेष पूजा र मेलापर्व परेपछि मनबहादुर एक–दुई दिनअघि नै हातमा माइक बोकेर गाउँका डाँडा–डाँडामा पुगेर कराउँछन्। गाउँको खबर गाउँलेका घरमा पुर्याउँछन्। उनलाई कटुवाल कराउने दिन जहिले बिहानै हतार भइसकेको हुन्छ। पूरै गाउँ डुलेर कटुवाल कराएर घर फर्कदा साँझ पर्ने भएकाले पनि बिहान सकभर ६ बजे नै निस्किन्छन्।
“गाउँको उल्टे, बाँकोट, मैलुम हुँदै भालुस्वाँरसम्म एकैदिन हिँडेरै ११ ठाउँमा पुगेर कटुवाल कराउनुपर्छ”, उनले भने, “बिहान चाँडै उठेन भने भ्याउन मुस्किल पर्छ।”
मनबहादुरको कटुवाल पेसा मात्रै पुरानो होइन। उनले पाउने पारिश्रमिक पनि अझैसम्म पहिलाकै जस्तो छ। “हाम्रो परिवारको म मात्र होइन, तीन पुस्तादेखि नै कटुवाल पेसा गर्दै आएका छौँ,” उनले भने, “बाजेले गरे, बाउले गरे अहिले मैले पनि गर्दैछु।” कटुवाल कराएबापत मनबहादुरले गाउँका सबै घरबाट गरेर वर्षमा करिब–करिब चार मुरी जति कोदो र दसैँमा प्रत्येक घरबाट एक भाग खानेकुरा पाउछन्।
“गाउँलेले घरैपिच्छे वार्षिक चार मानाका दरले कोदो दिन्छन्,” मनबहादुरले भने, “त्यहीँ खायो, काम गर्यो।” चैतेपूजा, कात्तिके पूजालगायतका पूजा पर्वमा कटुवाल प्रथासँगै राँगो बोका खोज्ने जिम्मा पनि आफ्नै हुने उनको भनाइ छ।
पुरानो कटुवाल पेसाले परिवारको गुजारा चलाएका छन्। “अन्त गएर जागिर खाएको भए त पेन्सन भइसक्थ्यो,” उनले भने, “यही पेसाले नै परिवार पालेको छु।” लामो समयदेखि कटुवाल गर्दै आएका उनलाई आजभोलि भने अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ।
कटुवाल पेसा गरेरै गाउँलेको सेवा गर्न पाएकामा गर्व गर्छन्, उनी। गाउँलेले आफ्नो कुरा सुन्ने र मान्ने गरेकामा पनि खुशी लाग्ने गरेको मनबहादुरको भनाइ छ।
“पूजाआजाका दिन मैले कटुवाल कराएपछि गाउँलेले घरमा पूजाका लागि धूप, अक्षता उठाएर मन्दिरमा ल्याउँछन्,” उनले भने, “त्यो दिन खनजोत, गोडमेलको काम छ भने पनि थाँती राखेर आउँछन्।” पछिल्लो समय भने गाउँलेले उपलब्ध गराएको माइक लगाएर बोल्न पाएपछि अलि सजिलो हुन थालेको मनबहादुरको भनाइ छ।
गाउँपालिकाको तालकोटस्थित प्रसिद्ध माइकोट मन्दिरमा विभिन्न समयमा सञ्चालन हुने पूजाआजाका लागि गाउँलेलाई जानकारी दिन त्यहाँ कटुवाल राख्ने चलन रहँदै आएको बारपाक सुलिकोट गाउँपालिकाका प्रवक्ता जीतबहादुर नेपालीले बताए।
“माइकोट मन्दिरमा विशेष पूजाआजा गर्दा गाउँका सबैले पूजा बार्ने चलन अहिले पनि छ,” उनले भने, “उक्त मन्दिरमा कात्तिके पूजा, चैते पूजा, दसैँको पूजालगायतका मेला पर्वलाई लक्षित गरी दुई कटुवाल राख्ने यहाँको पुरानो परम्परा हो।” उनका अनुसार मन्दिरमा पूजाआजाको सूचना दिन अहिले पनि कटुवाललाई जिम्मेवारी दिने गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
