दशैँ कति पुरानो?

मध्यकालमा नेपाल आएका क्रिस्चियन मिसनरीहरूले आफ्नो बयानमा अष्टमी र नवमीको राति हनुमानढोकाको तलेजु मन्दिरमा ८४ वटा राँगा र बोका बलि दिने उल्लेख गरेका छन्। त्यसलाई उनीहरूले कालरात्रि भनेका छन्।

सनातन हिन्दू नेपालीहरूको सबैभन्दा ठूलो र लामो चाड हो दशैँ। १५ दिनसम्म मनाइने यो चाडको धार्मिकसँगै सामाजिक तथा व्यवहारिक महत्त्व पनि छ। घरबाट टाढा रहेका प्रियजनहरू दशैँका बेला फर्केर आउँछन्, किनकि दशैँमा आफ्ना मान्यजनहरूबाट टीका थापेर आशीर्वाद लिँदा सुख, समृद्धि र कल्याण हुने आमविश्वास छ। दशैँ १५ दिनसम्म चल्ने भए पनि अष्टमी, नवमी र दशमी गरी तीन दिन खास हुन्छ। बडा दशमीपछिका पाँच दिन टीका र आशीर्वाद थाप्न आफन्तहरूकहाँ जानुपर्ने भएका कारण दशैँ १५ दिन लम्बिएको हो। 

त्यस्तै, प्रतिपदाको दिन रोपिने जमरा हुर्कन ८–९ दिन लाग्छ। जमरा रोपेपछिका १० दिन गन्दा पनि दशैँ १५ दिनको हुन आएको हो। वर्षा–गर्मी सकिएर जाडो शुरु नभइसकेको समयमा दशैँ पर्छ। झरी बादल नहुने र उज्यालो दिन हुने हुनाले पहिले–पहिले काठमाडौं उपत्यकामा दशैँको मुख्य आर्कषण चङ्गा हुन्थ्यो। अचेल चङ्गा उडाउने चलन कम भएको छ।  

कहिलेबाट सुरु भयो दशैँ?
दशैँ प्राचीनकालदेखि नै सुरु भयो भन्ने अड्कलबाजीहरू छन्। यद्यपि, मध्यकालमा नेपाल आएका क्रिस्चियन मिसनरीहरूले आफ्नो बयानमा अष्टमी र नवमीको राति हनुमानढोकाको तलेजु मन्दिरमा ८४ वटा राँगा र बोका बलि दिने उल्लेख गरेका छन्। त्यसलाई उनीहरूले कालरात्रि भनेका छन्। क्रिस्चियन मिसिनरीहरूको काम नै घुम्ने र घुमेका ठाउँको बयान लेख्ने थियो। सोही आधारमा दशैँको अस्तित्व मध्यकालमा भएको अनुमान गर्न सकिन्छ।

प्रा.डा. त्रिरत्न मानन्धर

हिन्दू धर्मावलम्बीहरूले दशैँलाई रामले रावणको वध गरी असत्यमाथि सत्यको विजय प्राप्त गरेको उत्सवका रूपमा मान्छन्। बौद्ध धर्मालम्बीहरूले राजा अशोकले हिंसा त्याग गरेको दिनका रूपमा मान्छन्। प्राचीन भारतका राजा अशोकले भयंकर युद्धमार्फत कलिङ्ग भन्ने देशलाई जितेका थिए। तर, पछि आफूले जितेको देश हेर्न जाँदा उनले त्यहाँ सयौँ मानिस मरेका, महिला विधवा भएका र बस्ती उजाड भएका देखे। त्यस्तो नरसंहारक युद्धको पश्चात गर्दै हिंसा त्यागी बौद्ध धर्म अवलम्बन गरे। 

बहादुर शाहको पालामा नेपाल आएका अंग्रेज नागरिक कर्क प्याट्रिकले नेपालबारे ‘एन अकाउन्ट अफ हिन्दू किङ्डम अफ नेपाल’मा नवरात्रिको उल्लेख गरेका छन्। त्यसमा प्याट्रिकले ‘दशैँ’ शब्दको भने उल्लेख गरेका छैनन्। दशैँका अघिल्ला नौ रातलाई नवरात्रि भनिएको हो। यी नौ रात्रिमा विभिन्न नौ पीठ (देवीका मन्दिर) मा गई पूजा गरिन्छ। नवरात्रि अवधिमा काठमाडौँ उपत्यका मानिसहरू उपत्यकाभित्रका नौ तीर्थस्थल घुम्छन् भने पाटन र झक्तपुरका मानिसले आफ्नो क्षेत्रका शक्तिपीठको उपासना गर्छन्। 

दशैँको व्यवहारिक पक्ष
दशैँमा विशेषतः हातहतियारको पूजा हुन्छ। आफ्नो पेशा–व्यवसायसँग सम्बन्धित हातहतियारहरूले राम्रोसँग काम गरोस् र आफ्नो पेशा अझ राम्रोसँग चलोस् भनेर हातहतियारको पूजा गर्ने गरिएको हो। नवमीका दिन किसानहरूले खेतीपातीमा प्रयोग गर्ने कुटो, कोदाली, हँसिया तथा व्यापारीले ढक, तराजु, माना, पाथीको पनि पूजा हुन्छ। त्यस्तै बाँडा (शाक्य)ले सुन–चाँदीसम्बन्धी औजारको पूजा गर्छन्। सिकर्मी र डकर्मी तथा श्रमिकहरूले पनि पनि आफ्ना–आफ्ना औजारहरूको पूजा गर्छन्। यसरी, कामलाई नै देवता मानेर पूज्ने चलन नेपाली समाजमा छ। 

दशैँको खास रौनक सप्तमीबाट शुरु हुन्छ। तर, सप्तमीमा हुने फूलपाती भने आधुनिक नेपालको शुरुआतसँगै भएको हो। पृथ्वीनारायण शाहले राज्य जितिसकेपछि काठमाडौँमा गोरखा राज्यको आधिपत्य देखाउनको लागि उखु, केराका बोटलगायत पूजा सामग्री राखी ‘फूलपाती’ भित्र्याउने चलन शुरु गरे। अहिलेसम्म पनि गोरखाका मगर पूजारीले धादिङको जीवनपुरसम्म फूलपाती ल्याउँछन् भने त्यहाँदेखि वसन्तपुरसम्म बाहुन पूजारीले ल्याउने प्रचलन छ। तर, यो चलन मध्यकालसम्म थिएन। पृथ्वीनारायण शाहले यो चलन उपत्यका भित्र्याएपछि अहिलेसम्म निरन्तरता दिइएको छ। 

अष्टमीमा बाहुन–क्षेत्रीहरूले देवीका मन्दिरमा बोका तथा खसीको बलि दिने गर्छन् र बलि दिएको पशुकै मासुसँग मिसाएर भात तथा चिउरा खाने गर्छन्। नेवारले भने अष्टमीको राति ‘कुछि भ्वयः’ हुने गर्छ। नेपाल भाषामा कुछिको अर्थात् दुई माना र भ्वयःको अर्थ भोज हो। नेवारहरूले अष्टमीको राति दुई माना बराबरको भोज खाने गर्छन्। उक्त भोजमा विभिन्न परिकारहरू समावेश हुन्छन्। अष्टमीको राति भोज खाएपछि दशमीको दिनसम्म भोजबाहेक नियमित खाना खान मिल्दैन, खाने चलन छैन। नवमी र दशमीमा पूजा गर्न तागत मिलोस् भनेर दुई माना भोज खाने चलन चलेको हो। नवमीमा दिइने बलिलाई ‘स्याकु च्याकु’ भनिन्छ। यस दिन सकेजति पशुबलि दिनु पर्ने मान्यता छ। बडादशमीमा भने सबैले आफ्ना मान्यजनबाट टीका जमरा र आशीर्वाद ग्रहण गर्छन्। परिवारमा आपसी वैमनश्य भए टीका ग्रहणपछि हट्ने मान्यता छ। 

नेवार समुदायको मोहनी सिन्ह र तान्त्रिक पक्ष
अष्टमी, नवमी र दशमीलाई नेवार समुदायले दशैँ होइन, ‘मोहनी सिन्ह’का रूपमा मनाउँछन्। नवमीको दिन बलि दिएको कुखुराको शिरलाई दुई पालामध्ये एउटामा बत्ती बालिन्छ। बत्ती बालेको पालामाथि अर्को पालाले छोपेर कालो धुवाँ जम्मा हुन्छ, जसलाई दशमीको दिनमात्र निकाल्न मिल्छ। धुँवा जमेर बनेको ध्वाँसजस्तो डल्लोलाई नै मोहनी भनिन्छ। यसको तान्त्रिक मान्यता छ। 

कालो टीकामा तान्त्रिक शक्ति हुने कारण त्यसले शरीरमा उर्जा दिन्छ भन्ने जनविश्वास छ। मोहनी सिन्ह अर्थात कालो टीकालाई पातलो र ठाडो धर्काको रूपमा उनीहरू निधारमा लगाउँछन्। खसआर्य समुदायमा रातो टीका लगाइन्छ भने नेवारहरूले टीकाको सट्टा सुन्तला रंगको ‘भुः सिन्ह’ गोलाकार बनाएर लगाउँछन्। दशमीको विभिन्न ठाँउमा ‘पायो जात्रा’ अर्थात् ‘खड्ग जात्रा’ समेत हुने गर्छ। 

त्यस्तै, अर्को तान्त्रिक महत्त्वको पाटो थियो, अष्टमीका दिन नेवारहरूले आफ्नो घरको मूल ढोकामा टाँस्ने दुई आँखाको चित्र। चित्रकारले कागतमा कोर्ने यी आँखा २५–३० वर्षअघिसम्म पनि टाँस्ने गरिन्थ्यो। तर, अहिले आएर यो प्रचलन हराएको छ। तान्त्रिक शक्ति प्रतिस्थापन गरी राखिने ती आँखा घरमा राखे परिवारका सदस्यलाई कसैको नजर नलाग्ने जनश्रुति चलिआएको छ। दशैँसँग सम्बन्धित नभए पनि पञ्चमीका दिन ‘पचली भैरव’को र एकादशीका दिन ‘अशोक विनायक’को जात्रा हुन्छ। 

८–१० वर्ष अघिसम्म धार्मिक र सांस्कृतिक भिन्नताका आधारमा गुरुङ, राई, लिम्बू समुदायले फरक–फरक ढंगले दशैँ मनाउँदै थिए। तर, अचेल सनातनी हिन्दूहरूले झैँ दशैँ मनाउनेहरू समेत बढेका छन्। परापूर्व कालमा चारै ऋतुमा दशैँ मनाउने गरिएको भनिए पनि हालसम्म त्यसको यथेष्ट पुष्टि गर्ने आधार छैन। हाल, असोज–कात्र्तिकको बीचमा पर्ने बडादशैँ र चैतमा मनाइने चैतेदशैँ गरी दुई दशैँ छन्। चैतेदशैँलाई जनमानसले खासै रुचिका साथ नमनाए पनि राजतन्त्र हुँदासम्म राज्यस्तरबाटै वश्सन्तपुरबाट गोरखासम्म औपचारिक ‘पूजा लाने’ चलन थियो।

(कुराकानीमा आधारित।)