सागर खातीको निर्देशनमा मञ्चन हुन लागेको ‘टिकट टु हलिउड’मा मिलन कार्की र सुदीप खतिवडाले अभिनय गरेका छन्।
काठमाडौँ– मण्डला थिएटरमा शनिबारदेखि नाटक 'टिकट टु हलिउड' मञ्चन हुने भएको छ। सागर खातीको कथा, परिकल्पना र निर्देशनमा मञ्चन हुन लागेको नाटकमा मिलन कार्की र सुदीप खतिवडाले अभिनय गरेका छन्। ‘तिम्रो आँखामा फसेको साँझ’, ‘खोपडी भित्रको मान्छे’, ‘अबुई’ लगायतका नाटक निर्देशन गरिसकेका खातीको 'टिकट टु हलिउड' छैटौँ निर्देशन हो।
केही समयअघि ललितपुरको बालकुमारीमा दक्षिण कोरिया रोजगारीका लागि जान ईपीएस भाषा परीक्षा दिने क्रममा भएको आन्दोलनमा एक युवाको ज्यान गएको प्रत्यक्ष देखेपछि यो विषयमा नाटक बनाउने विचार आएको उनी बताउँछन्।
मानिसहरू आफ्नो देश छाड्न किन आन्दोलित हुन्छन्, कारण के हो र विदेश जाने लहडले मानिसलाई कुन हदसम्म पुर्याइरहेको छ भन्ने प्रश्नमा घोत्लिँदा नाटकको आइडिया आएको उनको भनाइ छ। “यो विषय के गर्ने र कसरी गर्ने भन्ने लामो समयसम्म अवचेतन मनमा थियो, बालकुमारीको घटना देखेपछि नाटक गर्नैपर्छ भन्ने लाग्यो,” उनले भने।
‘महाभोज’, ‘लाटीको छोरो’, ‘सलेदो’, ‘र माइलो’ लगायत डेढ दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका कलाकार कार्की समकालीन कलाकार र निर्देशकसँग काम गर्न पाउँदा आफ्नो चरित्रलाई गहिराइमा पुगेर अभिनयमा उतार्न सक्षम भएको बताउँछन्। निर्देशकले कलाकारलाई पात्रको चरित्र निर्माणमा काम गर्न स्वतन्त्रता दिएको उनको भनाइ छ। “यो नाटकको थिमअनुसार पात्र निर्माणमा धेरै मिहिनेत भएको छ, दर्शकले फरक काम देख्न पाउनेछन्,” कार्कीले भने।
‘क्लेशा’, ‘लाटीको छोरो’, ‘मसानटार आन्दोलन’, ‘जालिनी’, ‘एण्टीगोनी’ लगायत एक दर्जन नाटकमा अभिनय गरिसकेका कलाकार खतिवडा नाटकमा देखासिकी र लहडले मानिसलाई कस्तो समस्यामा पुर्याइरहेको छ भन्ने देखाइएको बताउँछन्। "नाटकमा समकालीन समाजका गम्भीर विषयलाई हास्य शैलीमा देखाइएको छ,” खतिवडाले भने।
नाटक सोमबारबाहेक साताको प्रत्येक दिन दिउँसो चार बजे मञ्चन हुनेछ भने शुक्रबार, शनिबार र आइतबार साढे सात बजे अतिरिक्त सो पनि हुनेछ। नाटक वैशाख २३ गतेसम्म चल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
