मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए।
झापा– भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ। नेपालका चिया उद्यमीहरूले यसबाट गम्भीर संकट निम्तिने बताएका छन्।
पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटंकी नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो। चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरू पानीटंकीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवं भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए। भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटंकीस्थल भन्सार कार्यालयका समकक्षीसँग शुक्रबार नै भेटेर समस्या समाधानका लागि आग्रह गरेको भन्सार प्रमुख रेग्मीले बताए।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिए। तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग संकटमा फस्ने उनको भनाइ छ।
चिया व्यवसायी एवं भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटंकीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो।
“यसअघि एउटा कम्पनीले एउटा नमूनाको गुणस्तर जाँचपास गराएको ‘रिपोर्ट’ले १५ दिनसम्म चिया निर्यात गर्दा पनि मान्यता पाउँथ्यो,” व्यवसायी अग्रवालले भने, “अहिले पानीटंकीको भारतीय भन्सारले हरेक गाडीको छुट्टाछुट्टै नमूनाको गुणस्तर जाँचपास रिपोर्ट ल्याउनुपर्ने अड्को थापेको छ।”
पानीटंकी भन्सारमा गोदामको सुविधा नभएकाले नेपालबाट चिया ‘लोड’ भएर गएका १७ वटा ट्रक खुला सडकमा अलपत्र परेको उनले बताए। त्रिपालले छोपेर सडकमा अलपत्र अवस्थामा चिया राखिएको ट्रकमा राति चोरी हुनसक्ने जोखिम छ। अलपत्र ट्रकहरूमध्ये नेपाल चिया विकास निगमका ६ वटा ट्रक छन् भने अन्य सामान हिमालयन रेन्जलगायत चिया उद्योगका हुन्।
सीटीसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएको छ। नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ। निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ। चिया व्यवसायीका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन।
भारतको पानीटंकी भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन। भारतको कोलकाता, दिल्ली, पटनालगायत स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
