सगरमाथा आरोहण गर्न ३५२ आरोहीले लिए अनुमति

पर्यटन विभागका अनुसार हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन्।

काठमाडौँ– यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि ३५२ आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र २८७ पुरुष गरी जम्मा ३५२ आरोहीले अनुमति लिएका हुन्। हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन्।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रूपमा आरोही आइरहेको बताए। उनले यो वर्ष चार सयभन्दा बढी आरोही आउने विश्वास व्यक्त गरे। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए।

सगरमाथा सहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म ५६ करोड ४० लाख ३१ हजार १८१ रुपैयाँ राजस्व संकलन भएको छ।