विश्वकप : मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी

कतार विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको छ।

काठमाडाैँ– अर्जेन्टिनाले कतार विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा मेक्सिकोलाई पराजित गरेको छ। लुसेल रंगशालामा शनिबार राति सम्पन्न खेलमा मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो।

मेक्सिकोविरुद्ध पहिलो हाफमा काउन्टर अट्याककै समय गुजारेको अर्जेन्टिनाले दोस्रो हाफमा मिडफिल्ड र विंगब्याकमा परिवर्तनपछि जित निकालेको हो। अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सी र एन्जो फर्नान्डेजले गोल गरे। खेलको ६४औँ मिनेटमा मेस्सीले अर्जेन्टिनालाई शुरूआती अग्रता दिलाएका थिए।

पेनाल्टी क्षेत्र बाहिरबाट मेस्सीले गरेको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। ८७औँ मिनेटमा मेस्सीको पास डिफेन्डरलाई छक्याएर फर्नान्डेजले गरेको प्रहारलाई गोलरक्षक गोलर्मे ओचोआले बचाउने कुनै अवसर पाएनन्। त्यसअघि शनिबार समूह सी अन्तर्गत नै भएको खेलमा पोल्यान्डले साउदी अरबलाई पराजित गरेको थियो।

पोल्यान्डका लागि कप्तान रोबर्ट लेवान्डोस्कीले एक गोल र एक असिस्टको योगदान गरेका थिए। यस जितसँगै अर्जेन्टिना समूह सी मा ३ अंकसहित दोस्रो स्थानमा छ। पोल्यान्ड ४ अंक जोड्दै शीर्ष स्थानमा छ भने साउदी ३ अंक जोड्दै तेस्रो स्थानमा छ।

अर्जेन्टिना र साउदीको समान अंक भएपनि गोल अन्तरमा अर्जेन्टिना अघि छ।