प्रधानमन्त्री दाहालले कतारका अमिरको नेपाल भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहलको विषय अजेन्डामा राखिएको बताएका छन्।
कञ्चनपुर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहलको विषय अजेन्डामा राखिएको बताएका छन्।
कञ्चनपुरको महेन्द्रनगरमा आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जोशीको रिहाइका लागि कतारका अमिरले खेल्न सक्ने भूमिकालाई अजेन्डामा राखिएको बताएका हुन्।
“प्रभावित विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले तदारुकतापूर्वक भूमिका निर्वाह गरिरहेको छ,” प्रधानमन्त्री दाहालले भने, “आजै बिहान मात्रै कुवेतको एउटा टेलिभिजन अन्तर्वार्तामा मैले कतारले जोशीको रिहाइका लागि गर्न सक्ने भूमिकाबारे बोल्दै त्यस पहलका लागि मागसमेत गरेको छु।”
सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान संकायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा प्यालेस्टाइन विद्रोहीको आक्रमणबाट विद्यार्थीहरूले ज्यान गुमाएको उक्त घटनाले निकै दुःखी तुल्याएको उनको भनाइ थियो।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने तय भएको छ। परराष्ट्र मन्त्रालयले कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ।
त्यसैगरी, सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई, व्यवहारिक, जीवन उपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनु सक्नुपर्ने बताए।
“सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा पनि मैले पहिलो चोटि प्रधानमन्त्रीको हैसियतले भूमिका खेल्ने अवसर प्राप्त गरेको थिएँ,” उनले भने, “अहिले शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गर्ने निर्णय गर्न पाउँदा गर्व महसुस भएको छ।”
शिक्षासम्बन्धी हक कार्यान्वयन गर्न सबैको प्रतिबद्धता आवश्यक रहेको बताउँदै उनले सुदूरपश्चिम क्षेत्रको निम्न तथा मध्यम आय भएका विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गरी उनीहरूको जीवनमा विश्वविद्यालयले महत्त्वपूर्ण योगदान पुर्याएको जानकारी दिए।
सो क्रममा विश्वविद्यालयमा विभिन्न पदक प्राप्त विद्यार्थीलाई प्रधानमन्त्री दाहालले पदक वितरणसमेत गरे। उक्त समारोहमा ३७६ विद्यार्थी दीक्षित भएको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
