आईआईटी रुड्कीका अन्वेषकहरूले अहिले लोप भइसकेको यो सर्प संसारको सबैभन्दा लामो सर्पमध्ये एक भएको दाबी गरेका छन्।
करिब ५ करोड वर्षअघि विश्वकै सबैभन्दा लामो सर्प भारतीय भूमिमा विचरण गर्थ्यो। यो तथ्य वैज्ञानिकहरूको पछिल्लो खोजबाट खुलेको छ।
सन् २००५ मा उत्तराखण्डको रुड्कीस्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)का वैज्ञानिकहरूले गुजरातको कच्छमा रहेको कोइला खानीमा २७ वटा ठूला कंकालका टुक्राहरू फेला पारेका थिए। केही हड्डीहरू पनि एकसाथ जोडिएको भेटिएको थियो। त्यसबेलादेखि अहिलेसम्म यी जीवाश्महरूलाई विशाल गोहीजस्तो प्राणीको अवशेष मानिन्थ्यो। तर अहिले वैज्ञानिकहरूले ती जीवाश्म वास्तवमा संसारले देखेको सबैभन्दा ठूलो सर्प भएको निष्कर्ष निकालेका छन्।
यो सर्प यति ठूलो थियो कि आजका ठूला अजिंगर र एनाकोन्डाहरू पनि यसको अगाडि बच्चाजस्तै देखिन्थे। वैज्ञानिकहरूले यसलाई ‘वासुकि इन्डिकस’ नाम दिएका छन्। हिन्दू धर्मग्रन्थमा उल्लेख गरिएका ८ नागमध्ये एक हो वासुकी नाग। जसलाई भगवान शिवले आफ्नो घाँटीमा बेर्ने गरेको उल्लेख छ।
यस्तै, ‘इन्डिकस’ शब्दको अर्थ ‘भारतको’ भन्ने हुन्छ। यस नामबाट वैज्ञानिकहरूले यो सर्प भारतमा मात्रै पाइने र भगवान शिवको नाग जत्तिकै शक्तिशाली र विशाल भएको हुनसक्ने बताएका छन्। आईआईटी रुड्कीका अन्वेषकहरूले अहिले लोप भइसकेको यो सर्प संसारको सबैभन्दा लामो सर्पमध्ये एक भएको दाबी गरेका छन्। आजको ६ मिटर (२० फिट) एनाकोन्डा र अजिंगर यसको तुलनामा निकै सानो हुन्। यो अनुसन्धान प्रतिवेदन हालै ‘साइन्टिफिक रिपोर्ट’ नामक जर्नलमा प्रकाशित भएको छ।
वैज्ञानिकहरूका अनुसार यस सर्पले अजिंगरको जस्तै आफ्नो शिकारलाई बेरेर मार्ने गर्थ्यो। यसको लम्बाइ ३६ देखि ४९ फिट र तौल एक हजार किलोसम्म हुने गर्थ्यो।
चाखलाग्दो कुरा के छ भने यो सर्प भारतमा मात्रै उत्पत्ति भएको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ। लाखौँ वर्ष पहिले, यो सर्प प्रजाति दक्षिणी युरेसिया हुँदै उत्तर अफ्रिका पुगेको थियो। यी सर्पहरू पृथ्वीको वायुमण्डल न्यानो भएको समयमा बाँचेका थिए, अर्थात् औसत तापक्रम २८ डिग्री सेल्सियसको वरिपरि हुने गर्थ्यो।
यो प्रतिवेदन विलुप्त सर्पहरूको विशेष समूह ‘म्याड्सोइड’को बारेमा हो। यी सर्पहरू करिब १० करोड वर्षअघि लेट क्रेटासियस कालदेखि लेट प्लेस्टोसिन कालसम्म पृथ्वीमा भेटिएको दाबी गरिएको छ। तिनीहरू मुख्यतया त्यतिबेलाको गोन्डवाना महाद्वीपमा बस्थे, जुन पछि छुट्टै महाद्वीपहरूमा विभाजित भयो।
लेट क्रेटासियस अवधिमा, यी सर्पहरू मेडागास्कर, दक्षिण अमेरिका, भारत, अफ्रिका र युरोपका द्वीप समूहहरूमा पाइन्थे। तर पछिल्ला समयमा तिनीहरू उत्तर अफ्रिका, दक्षिण अमेरिका, भारत र अस्ट्रेलियामा मात्र सीमित रहे। तर भारतमा भेटिएको यो जीवाश्मलाई भने ती अन्य सर्पभन्दा फरक भएको बताइएको छ।
वासुकी इन्डिकस सर्पको हड्डीमा केही विशेष चिन्हहरू भेटिएका छन, जसले यसलाई अन्य सर्पहरू भन्दा फरक बनाउँछ। उदाहरणका लागि, यस सर्पको मेरुदण्डको हड्डीको बीचमा सानो खाडलहरू देखिन्छन्। जुन प्रायः म्याडसोइड सर्पहरूमा मात्र पाइन्छ। यसको आकार पनि त्यस्तै छ।
सबैभन्दा फरक कुरा यो हो कि यसको हड्डी असाधारण रूपमा ठूलो छ। अहिलेसम्म फेला परेको कुनै पनि म्याडसोइड सर्पमा यो भन्दा ठूलो हड्डी थिएन। म्याडसोडाइ सर्पहरू प्राचीन समयमा पृथ्वीमा पाइन्थे। अब तिनीहरूका जीवाश्महरू विभिन्न महाद्वीपहरूमा भेटिने गरेका छन्। वैज्ञानिकहरूले यी सर्पहरू एक ठाउँबाट अर्को ठाउँमा कसरी पुगे, कसरी फैलिए र कसरी विलुप्त भए भन्ने कुरा बुझ्न खोजिरहेका छन्।
अब यो नयाँ सर्प ‘वासुकी इन्डिकस’ फेला परेपछि यो रहस्य थप पेचिलो बनेको छ। यो सर्प भारतको पुरानो म्याडसोइड सर्प र उत्तर अफ्रिकामा पाइने एक प्रकारको सर्पसँग नजिकको सम्बन्ध भएको पाइएको छ। त्यतिबेला अफ्रिका र एशिया एउटै भूमि हुने गरेको विभिन्न अध्ययनले देखाएको छ।
वैज्ञानिकहरूको अनुसन्धानमा वासुकी इन्डिकसको मेरुदण्डको हड्डी टिटानोबोआको हड्डी (अहिलेसम्मको सबैभन्दा ठूलो सर्प मानिने) भन्दा अलिकति सानो भएको, तैपनि तिनीहरूको गणना अनुसार वासुकी इन्डिकसको लम्बाइ टिटानोबोआको भन्दा ठूलो हुने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
