हिउँचितुवाको संख्या वृद्धि भएसँगै मानव–वन्यजन्तुबीचको द्वन्द्व घटाउने उपाय अपनाउन सम्बन्धित निकायले जनचेतनामूलक र राहतका कार्यक्रम प्रभावकारी ढंगबाट लागू गर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ।
सुर्खेत– डोल्पा र मुगु जिल्लामा फैलिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँगै अन्य सामुदायिक वन क्षेत्रमा गणना गर्दा डोल्पामा हिउँचितुवाको संख्या नेपालकै उच्च भएपछि खुशीसँगै चुनौती थपिएको छ।
हिउँचितुवाको संख्या १२० पुगेपछि आगामी दिनमा दिगो, वैज्ञानिक, एकीकृत व्यवस्थापनको चुनौती बढेको हो। विश्वमै दुर्लभ मानिएको हिउँचितुवाको संख्या चीनसँग सीमा जोडिएको डोल्पामा वर्षै पिच्छे वृद्धि भएपछि यसको व्यवस्थापन तथा संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवालाको माग छ।
हिउँचितुवाको नयाँ तथ्यांक सार्वजनिक गर्दा व्यवस्थापनको चिन्ता बढेको डिभिजन वन अधिकृत मुनबहादुर रावतले बताए। प्रदेश सरकारको मातहतका डिभिजन वन कार्यालय डोल्पाको अगुवाइमा सामुदायिक वन समूहभित्र हिउँचितुवाको गणना गरिएको थियो।
पाँच महिना लगाएर गरिएको सर्वेक्षणबाट वन क्षेत्रमा मात्रै तीस वटा हिउँचितुवा फेला पारिएको छ। सर्वेक्षण अनुसार निकुञ्ज क्षेत्र बाहिर पर्ने डोल्पोबुद्ध, काइके र छार्काताङ्सोङ् गाउँपालिकाको सामुदायिक वन क्षेत्रमा प्रति एक सय वर्ग किमीमा हिउँचितुवाको घनत्व १.५ रहेको छ।
हिउँचितुवा एशियाका १२ वटा राष्ट्रमा मात्र पाइने गर्दछ। नेपालमा सबैभन्दा धेरै डोल्पामा हिउँचितुवा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए।
चार वर्षअघि क्यामरा ट्र्याप विधिबाट हिउँचितुवाको गणना गर्दा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा ९० वटा फेला परेको थियो। पछिल्लो तथ्यांकअनुसार निकुञ्जमा प्रति एक सय वर्ग किमी क्षेत्रफलमा हिउँचितुवाको घनत्व २.२ रहेको छ।
हिउँचितुवाको संख्या वृद्धि भएसँगै मानव वन्यजन्तु द्वन्द्व घटाउने उपाय अपनाउन सम्बन्धित निकायले जनचेतनामूलक र राहतका कार्यक्रम प्रभावकारी ढंगबाट लागू गर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ।
हिउँचितुवाको संख्या वृद्धिले पर्यापर्यटन र आयआर्जनमा टेवा पुग्ने जनाइएको छ। हिउँचितुवा गणना गर्दा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट गरिएको सर्वेक्षणमा ८० लाख र डिभिजन वन कार्यालयको नेतृत्वमा गरिएको सर्वेक्षणमा ४८ लाख रकम खर्च भएको विश्व वन्य जन्तु कोष (डब्लूडब्लूएफ)का अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले बताए।
दुवै निकायले गरेको सर्वेक्षणमा प्राविधिक तथा आर्थिक सहयोग डब्लूडब्लूएफले गरेको छ। डोल्पा देशकै सबैभन्दा ठुलो जिल्ला हो। डोल्पाको माथिल्लो भागमा हिमाली क्षेत्र छ भने तल्लो क्षेत्रमा मध्यम खालको हावापानी छ।
निकुञ्ज तथा सामुदायिक वन क्षेत्रमा हिउँ तथा विकट भूगोल भएकाले संरक्षणको काम चुनौतीपूर्ण छ। हिउँचितुवा उच्च पहाडी पर्यावरणमा पाइने दुर्लभ र संरक्षित वन्यजन्तु हो। यसले पर्यावरणको सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका गर्ने विज्ञ बताउँछन्।
ठूलो र दुर्गम भौगोलिक क्षेत्रको वासस्थानमा बस्ने भएकाले ठूला बिरालामध्ये विश्वव्यापी रूपमा कम अध्ययन गरिएका प्रजातिमा यो प्रजाति छ।
नेपालमा हिउँचितुवाको वासस्थान ३० हजार वर्ग किलोमिटर मध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर रहेको डब्लूडब्लूएफका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले जानकारी दिए। यी क्षेत्रहरू वासस्थान र करिडोर दुवैको रूपमा महत्त्वपूर्ण रहेको उनले बताए।
नेपालको तीन संरक्षित क्षेत्र (शे–फोक्सुन्डो, ढोरपाटन सिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्र) र हिउँचितुवाको दुई भूपरिधि क्षेत्र (पश्चिम र मध्य) मा रहेका हिउँचितुवाको संख्या गणना गरिएको उनको भनाइ छ। सरकारले यस क्षेत्रमा हिउँचितुवाको अध्ययन तथा अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेको हमालले जानकारी दिए।
२०८० वैशाखदेखि भदौसम्म गरिएको क्यामरा ट्र्याप सर्वेक्षणले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज बाहिरको पूर्वी डोल्पा क्षेत्रका हिउँचितुवाको संख्या पहिलो पटक यकिन गरेको हो। सर्वेक्षणले प्रति एक सय वर्ग किलोमिटरमा हिउँचितुवाको घनत्व १.५ रहेको अनुमान गरेको छ। यससँगै अध्ययन क्षेत्रभित्र ३० वटा हिउँचितुवा भेटिएको छ।
चार वर्षअघि निकुञ्जभित्र गरिएको सर्वेक्षणमा प्रति एक सय वर्ग किलोमिटरमा चितुवाको घनत्व २.२ रहेको अनुमान गरेको थियो। ९० वटा हिउँचितुवा निकुञ्ज र संरक्षण क्षेत्रभित्र भेटिएको थियो।
हिउँचितुवा विश्वमै एशियाका १२ राष्ट्रमा मात्र पाइन्छ। यसको कुल संख्या चार हजार देखि ६ हजार पाँच सय मात्र रहेको अनुमान छ। हिउँचितुवा धेरै पाइनेमा नेपाल चौथो राष्ट्रमा पर्दछ। नेपालमा तीन सयदेखि चार सयको संख्यामा हिउँचितुवा रहेको तथ्यांकले देखाएको छ। हिउँचितुवा अवलोकनको लागि डोल्पा विश्वकै एक प्रमुख गन्तव्य हुनसक्ने डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ।
वन कार्यालयका अनुसार पछिल्लो सर्वेक्षणले छार्का ताङ्सोङ, काइके र डोल्पो बुद्ध गाउँपालिकाका राष्ट्रिय निकुञ्ज बाहिरका क्षेत्र समेटेको थियो। हिमाली भूभागमा पर्ने करिब दुई हजार वर्ग किलोमिटर क्षेत्रफलमा ६० दिनसम्म यो अध्ययन गरिएको हो। अध्ययनमा ३३ जना वैज्ञानिक, डिभिजन वन कार्यालय डोल्पाका सात जना कर्मचारी, तीन विद्यार्थी र दुई जना डब्लूडब्लूएफ नेपालका वन्यजन्तु अनुसन्धानकर्ता सामेल थिए।
“विश्वव्यापी रूपमा हिउँचितुवाको अनुसन्धान र संरक्षणका विभिन्न प्रयास भइराखेका छन् । यस सन्दर्भमा नेपाल सरकारलाई सहयोग गर्न अनि हिउँचितुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायसँग साझेदारी गर्न पाउँदा हामी थप जिम्मेवार भएका छौँ,” डब्लूडब्लूएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले भने। हिउँचितुवाको संरक्षण र स्थानीय समुदायको विकासलाई समानान्तर रूपमा अघि बढाउन डब्लूडब्लूएफ नेपालले समुदायमा आधारित संरक्षणका प्रयास जारी राख्ने पनि डा.गुरुङले जानकारी दिए।
हिउँचितुवाको संरक्षण गरी मानव–हिउँचितुवा द्वन्द्व घटाउन पशु बीमा तथा राहत व्यवस्था गरिएको छ। घरपालुवा पशु चौपायाको चरिचरन क्षेत्रलाई हिउँचितुवा संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन तथा जडीबुटी उत्पादन क्षेत्रको रूपमा विकास गर्नको लागि दिगो, वैज्ञानिक, एकीकृत व्यवस्थापन तर्फ साझा पहल र अभ्यास गर्नका सबैले सकारात्मक भूमिका खेल्ने अपेक्षा लिइएको छ।
शे–फोक्सुन्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। यो निकुञ्ज डोल्पा र मुगु जिल्लामा फैलिएको छ। शे–फोक्सुन्डोमा हिउँचितुवा, तिब्बती खरायो, चिरूँ, तिब्बती गधा, नाउर लगायतका हिमाली वन्यजन्तु पाइन्छन्।
यस निकुञ्जलाई डाँफे, मुनाल, चिर लगायत दुई सय प्रजातिका पक्षीहरू, छ प्रजातिका सरीसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा धनी बनाएको छ। यहाँ पाइने हिउँचितुवाको आहार बिहारबारे भएको वैज्ञानिक अनुसन्धानले यो निकुञ्ज हिउँचितुवाका लागि सबैभन्दा उपयुक्त वासस्थान प्रमाणित भएको छ।
निकुञ्जको मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुन्डो ताल सन् २००७ मै रामसारमा सूचीकृत भएको छ। ११औँ शताब्दीमा निर्मित शे–गुम्बा यहीँ छ। गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ। यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
