नवनिर्वाचित सांसद तथा रास्वपाका सभापति रवि लामिछानेले अबको समय काममा केन्द्रित हुने बताएका छन्। उनले बधाइ लिने समय नआएको समेत बताए।
चितवन- भरतपुर महानगरपालिकाको शहिदचोक–धर्मचोक–कचपचे सडकखण्ड अन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण शुरू भएको लामो समय हुँदा पनि कालोपत्रे हुनसकेको छैन। यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका छन्।
तत्काल सडक बनाउन स्थानीयले पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएपछि स्थानीय आजित थिए। आफूलाई विश्वास गरेर भारी मत दिएर जिताएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद रवि लामिछाने शनिबार स्थानीयको सडकको समस्यालाई समाधान गर्न ‘फिल्ड’मै गए। सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी संघ चितवनका अध्यक्षलाई बोलाएर नवनिर्वाचित सांसदले बाटो निर्माणको सार्वजनिक प्रतिबद्धता गर्न लगाए। “यहाँका जनताको धेरै गुनासो सडकको बारेमै छ, आज त्यही भएर ठेकेदार कम्पनी र सम्बन्धित पक्षलाई यहीँ ल्याएर समस्या समाधान गराउने प्रयास गरेको छु”, सांसद लामिछानेले भने।
उनले स्थानीय जनताले आफूलाई भोट दिएर जिताएपछि जनताको समस्या समाधान गर्न आजैदेखि अघि सरेको बताए। “तपाईंहरूले मलाई आश गरेर जिताएर पठाएको मान्छे हुँ, त्यसकारण अब तपाईंहरू सबैजना लड्ने होइन जिम्मा लिन म आएको छु”, तपाईंहरूका लागि अब म लड्ने हो तपाईंहरूले मलाई भोट हालिसक्नुभा’छ”, उनले भने।
उनले जितपश्चात् अब बधाइ खाने समय नभएको भन्दै अब काम गर्ने बेला आएको बताए। त्यहीअनुसार औपचारिक शपथअघि नै जनताको शपथ पाइसकेकाले जनताको काममा लागिपरेको उनको भनाइ छ। “मैले यसरी उभिएर बाटो बनाउने कामलाई झकझक्याउँदै गर्दा कसैले मिडियाबाजी, स्टन्ट गर्यो भने भन्लान्, त्यो मतलब भएन तर यहाँको बाटो बन्नुपर्यो, स्थानीयवासी ढुक्कले बस्न पाउनुपर्यो”, नवनिर्वाचित सांसद लामिछानेले भने। “मलाई सामान्य भेटघाट, बधाई कार्यक्रम, शिलान्यास, उद्घाटनमा नबोलाउनुहोला, म तपाईंहरूको काममा अघि बढ्छु, मलाई साथ दिनुहोला”, उनले सबैलाई अनुरोध गर्दै भने।
अध्यक्ष लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इन्जिनियर रञ्जन ठाकुरलाई काम गराउने प्रतिबद्धता गराए। ठेकेदार कम्पनीका व्यवस्थापक थपलियाले भने, “विभिन्न समस्याले सडक निर्माणमा ढिलाइ भएको हो, अब हामी ढिला नगरी भोलिबाटै काम अगाडि बढाउँछौँ”, उहाँले आइतबारदेखि निर्माण सामग्री ल्याउन सुरु गर्ने र पिच निर्माणको काम तत्काल अघि बढाइहाल्ने बताए। “यो मङ्सिरभित्र सबै काम सकिन्छ, निर्वाचनलगायतका विभिन्न कारणले ढिलाइ भएको हो, अब हुँदैन”, उनले भने।
यस्तै इन्जिनियर ठाकुरले प्राविधिक कारणले सडक निर्माणको काम ढिलाइ भएको बताए। विद्युत्को पोल समयमै नसार्नु, ढल निर्माणको कामपछि मात्रै समावेश हुनुले कामलाई असर परेको बताए। अब सबै काम सकिएकाले निर्माण काम नरोकिने प्रतिबद्धता जनाए।
स्थानीय यमलाल कँडेलले भने, “यस्ता प्रतिबद्धता उनीहरूले धेरै गरे तर बाटो बनेन, अहिले फेरि प्रतिबद्धता जनाए अबचाहिँ काम होस्।”
करिब तीन हजार एक सय मिटर उक्त सडकखण्डमा दुई हजार छ सय मिटर कालोपत्रे निर्माण सकिएको निर्माण कम्पनीले जनाएको छ। अब धर्मचोक क्षेत्रका पाँच सय मिटर सडक पक्की गर्न मात्र बाँकी भएकाले छिट्टै काम सकिने कम्पनीले जनाएको छ। सो क्रममा निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष केशव लामिछानेले चितवनका कुनै पनि अधुरा निर्माणका काम तत्काल सक्नेगरी काम अघि बढेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
