सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारी राजा नेपाल आउने दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय नै गरेको छ।
काठमाडौँ– कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा मंगलबार नेपाल आउँदै छन्। पहिलोपटक कतारका राजा नेपाल भ्रमणमा आउन लागेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको कतारी राजाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ। पश्चिम एशियाको महत्त्वपूर्ण शक्तिराष्ट्रको प्रमुखको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय नै गरेको छ। सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिइन्।
अमिर अल थानीको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन्। गत मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिबी अर्यालसँगको भेटवार्ताका क्रममा राजदूत अन्सारीले नेपाल सरकारले अघि सार्ने प्रस्तावमा सहयोग गर्न कतार तयार रहेको बताएका थिए।
केही दिनयता एशियाली देशको औपचारिक भ्रमणमा निस्केका कतारी अमिर फिलिपिन्स र बांग्लादेशको भ्रमण सकेर त्यतैबाट नेपाल आउन लागेका हुन्। उनले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गरिरहेका छन्।
नेपालको चासो
नेपालीहरूको प्रमुख रोजगार गन्तव्य देश मानिन्छ कतार। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार त्यहाँ झन्डै ४ लाख नेपाली कार्यरत छन्। कतारका अमिरको पहिलो नेपाल भ्रमणमा ती श्रमिकको हितसँग सम्बन्धित विषय उठान गरिने बताइएको छ।
भ्रमणका क्रममा दुई देशबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई परिस्कृत/नवीकरण गरिनेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको श्रम मन्त्रालयले जनाएको छ। साथै, पर्यटन, लगानीलगायत विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
गंर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता तथा कतारमा रहेर व्यवसाय गर्दै आएका आरके शर्मा अमिर अल थानीको भ्रमणबाट नेपालको कतारसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताउँछन्। नेपाली पर्यटनको सन्दर्भमा पनि अमिर अल थानीको यो भ्रमण महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
“कतारलाई जोड्दा मध्यपूर्वका धेरै देश जोडिन्छन् भन्ने लाग्छ। कतारसँग भावनाबाटै जोडिनका लागि पर्यटन प्रवद्र्धनबाट पनि सम्भव छ। कतारका राजपरिवारका सदस्यहरु सगरमाथा आरोहण गर्न आउनु भएको थियो। मध्यपूर्वका अन्य देशका नागरिकलाई यहाँ आउनका लागि कसरी सहज वातावरण बनाउन सकिन्छ भन्नेतर्फ हामीले सोच्नुपर्छ। यी काम गर्न सम्भव पनि छ। पक्कै पनि यसबाट नेपाल र कतारबीचको जनस्तरको सम्बन्ध झनै घनिष्ट हुन्छ भन्ने लागेको छ,” रासससँगको कुराकानीमा उनले भनेका छन्।
नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा नारायण खड्काले कतारी अमिरको भ्रमण बहुउपयोगी हुने बताएका छन्। यस भ्रमणका क्रममा कतारमा रहेका नेपाली श्रमिकको हितअनुकूल हुनेगरी श्रम सम्झौतालाई परिमार्जन गर्न सकिने उनको भनाइ छ। साथै चाँडै नै नेपालमा हुन लागेको लगानी सम्मेलको पूर्वसन्ध्यामा भएको अमिरको भ्रमणले वैदेशिक लगानीका लागि विश्वसमुदायमा विश्वासको वातावरण सिर्जना गर्ने राम्रो अवसर भएको उनले बताए।
यस्तै, हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशीको रिहाइका लागि पनि अमिरसँग आग्रह गरिने बताइएको छ।
कञ्चनपुरको महेन्द्रनगरमा आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जोशीको रिहाइका लागि कतारका अमिरले खेल्नसक्ने भूमिकालाई एजेन्डामा राखिएको बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
