शनिबार भएको आगलागीबाट भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायतका गाउँका १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
अर्घाखाँची– भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिइन्। आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरि आँसु झार्दै उनले भनिन्, “भएको बास खरानी भयो गाँस र बासको पनि टुंगो छैन। कहाँ बस्ने कहाँ खाने।” शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उनको घर जलेर खरानी भएको थियो। त्यही खरानी स्याहार्दै उनले दुखेसो पोखेकी हुन्।
“घरमा रहेका अन्न, कपडा, लालपुर्जा, नागरिकता, गरगहना सबै खरानी भए, अहिले त खाने ठाउँ पनि छैन,” गंगाबहादुर विकले सुनाए।
आगलागीले उनको पनि घर नष्ट भएको छ। उनले घरमा भएको केही पनि बचाउन नसकिएको बताए। “ज्यान जोगियो त्यसैमा चित्त बुझाउनुपर्ने भयो, अरू सबै नष्ट भयो,” उनले भने।
मल्ल र विक मात्र होइन धारापानीमा शनिबार भएको भीषण आगलागीका कारण १३ घर परिवार अहिले खुला आकाशमा बस्न बाध्य छन्। आगलागीबाट भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायतका गाउँका १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए। बस्तीमा पसेको आगो नियन्त्रण भए पनि वनमा अझै पूर्ण रूपमा आगो निभेको छैन।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनास्थलमै गएर आगलागीका कारण बास गुमाएका परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेका छन्। आगलागीले घर गुमाएका रातामाटाका १६ घरपरिवारलाई जिल्ला प्रशासनको पहलमा उद्योग वाणिज्य संघले खाद्यसामग्री राहत उपलब्ध गराएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदीप मिश्रले बताए। चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री वितरण गरिएको छ।
भीषण आगलागीले गाउँ नै सखाप भएको छ। जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीमा ४३ घर गोठ जलेर नष्ट भएका छन्। हिजो भूमिकास्थान नगरपालिका, शीतगंगा नगरपालिका र पाणिनि गाउँपालिकामा भएको डढेलोले २० घर, २३ गोठ, ११ बाख्रा र ६ भैँसी जलेर नष्ट भएका हुन्। सबै पालिकामा दमकल नहुँदा र आगो नियन्त्रणका सामग्री पर्याप्त नहुँदा आगलागीका घटना बढिरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए। उनले सुरक्षाकर्मीसँग पनि पर्याप्त अग्नि नियन्त्रक साधन छैनन्।
जिल्लाका ६ वटा स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकामा मात्र दमकल छ। अन्य पालिकाहरूमा दमकल नभएपछि ट्याक्टरमा पानीको ट्यांकर भए पनि तयारी अवस्थामा राख्ने निर्णय भएको थियो। कार्यान्वयनको प्रक्रियामा आगलागी बढेको प्रशासकीय अधिकृत पन्थीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
