निर्वाचन परिणामपछि गठबन्धनकै सरकार बन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनको परिणामपछि गठबन्धनकै सरकार बन्ने बताएका छन्। सत्ता गठबन्धनले बहुमत ल्याउने दाबी गर्दै उनले ५ वर्ष गठबन्धनकै सरकार रहने बताए।

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनको नतिजापछि पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन्। 

रुपन्देहीको भैरहवामा आज बिहान पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनकै सरकार बन्ने बताएका हुन्। “गठबन्धनमा आबद्ध दलहरूबीच पाँच वर्षसम्म व्यवस्थालाई मझबुत बनाउँदै नागरिकको अवस्था सुधार्न गठबन्धनको सरकार बनाउने सहमति भएको छ”, उनले भने, “त्यहीअनुरूप अगाडि बढ्छ।  यो गठबन्धन पाँच वर्षसम्म निरन्तर जान्छ।”

प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने गृहमन्त्री खाणको भनाइ छ। “पाँच दलीय गठबन्धनको सरकार बन्छ”, उनले भने, “प्रधानमन्त्री को बन्ने भन्ने प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बसेर टुंग्याउनुहुन्छ। पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ।”

रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खाणले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको बताए। खाण राप्रपा नेता दीपक बोहोरासँग पराजित भएका थिए। 

“निर्वाचनमा पराजयलाई सहजतापूवक लिन गाह्रो हुन्छ। तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ। तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु”, उनले भने।