लुकाकुबिना नै खेलमा उत्रिएको बेल्जियमलाई समूह चरणको खेल जित्नैपर्ने चुनौती हुनेछ। चोटबाट भर्खरै तंग्रिन लागेका लुकाकु प्रशिक्षणमा भएपनि मोरक्कोविरुद्धको खेल खेल्ने छैनन्।
मोरक्कोविरुद्ध आइतबारको खेलमा बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोलीबाट ठूलो सुधारको आशा गरेका छन्।
यसअघि अहमद बिन अली रंगशालामा गत बुधबार सम्पन्न समूह ‘एफ’ को खेलमा मिसी बात्सुयीको निर्णायक गोलमा बेल्जियमले क्यानडालाई पराजित गरेको थियो।
क्यानडाले तुलनात्मक रूपमा आक्रमणको बढी अवसर सिर्जना गरेपनि फिनिसिङमा निकै फितलो साबित भयो। जसकारण खेलको ११औँ मिनेटमा अग्रता लिने सुवर्ण अवसर गुमायो। यानिक करास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले भिडियो एसिसेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिएका थिए। तर, अल्फोन्सो डेभिसको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले विफल पारे। थिबाउटको उक्त बचाउसँगै बेल्जियम ३ अंक लिन सफल भयो।
यद्यपि, आइतबार मोरक्कोविरुद्ध मैदान उत्रिँदा बेल्जियमका मुख्य प्रशिक्षक मार्टिनेजको लक्ष्य योभन्दा ठूलो जित नै हुनेछ। मोरक्कोलाई हराए बेल्जियम विश्वकपको इतिहासमा लगातार समूह चरणका ९ खेल जित्ने पहिलो टोली बन्नेछ।
मोरक्कोले समूह ‘एफ’को आफ्नो पहिलो खेलमा चार वर्षअघि रसिया विश्वकपमा उपविजेता भएको क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको थियो। यसपटक उसले दोहाको अल थुमामा स्टेडियममा हुने खेलमा बेल्जियमजस्तो बलियो टोलीविरुद्ध आश्चर्यजनक नतिजा निकाल्ने योजना बनाएको छ। तर, बेल्जियमविरुद्धको खेलमा मोरक्कोलाई आफ्नो स्टार फरवार्ड अचराफ हाकिमी र राइट ब्याक नौसैर मजरौईको चोटको चिन्ता हुनेछ।
यता, बेल्जियमका फरवार्ड रोमेलु लुकाकु तिघ्राको चोटबाट तंग्रिँदै छन्। उनी प्रशिक्षणमा फर्किएका छन्। तर, मुख्य प्रशिक्षक मार्टिनेजले मोरोक्कोविरुद्ध हुने समूह चरणको दोस्रो खेलमा लुकाकु मैदान उत्रने सम्भावना नरहेको बताएका छन्।
इटालियन क्लब इन्टर मिलानबाट व्यावसायिक रूपमा फुटबल खेल्दै आएका लुकाकु च्याम्पियन्स लिगअन्तर्गत भिक्टोरिया प्लिजेनविरुद्धको खेलमा घाइते हुँदै मैदानबाट बाहिरिएका थिए। पूर्णरूपमा फिट नभएपनि प्रशिक्षक मार्टिनेजले उनलाई कतार उत्रिएको २६ सदस्यीय टोलीमा राखेका छन्। लुकाकु क्यानडाविरुद्धको खेलमा मैदान उत्रिएका थिएनन्।
“लुकाकु प्रशिक्षणमा फर्किएका छन्। टोलीका लागि यो सुखद खबर हो”, उनको भनाइलाई उद्धृत गर्दै एपीले लेखेको छ, “यद्यपि मोरोक्कोविरुद्धको खेलमा उनी मैदान उत्रने सम्भावना न्यून छ।’
लुकाकु बेल्जियमका अनुभवी र भरपर्दा फरवार्ड हुन्। बेल्जियमका उच्च गोलकर्ता पनि हुन्। उनले आफ्नो १०२ अन्तर्राष्ट्रिय खेलमा ६८ गोल गरेका छन्। फिनिसिङमा कुशल रहेका उनलाई बेन्चबाट बाहिर ल्याउन सके बेल्जियमको नतिजामा ठूलो ‘अपसेट’ आउनसक्ने मिडफल्डर केभिन डी ब्रुएनाको भनाइ छ।
“लुकाकु मोरक्कोविरुद्ध खेलमा मैदान उत्रिन्छन् या उत्रिँदैनन् मलाई थाहा छैन। तर, यदि बेन्चबाट शुरू गर्ने हो भने खेलमा उनी अतिरिक्त ‘हतियार’ हुनेछन्,” ब्रुएना भन्छन्।
प्रशिक्षक मार्टिनेजको करिब चार वर्ष अगाडि रसिया विश्वकपमा हात पारेको तेस्रो स्थानलाई सुधार गर्ने लक्ष्य बनाएका छन्। तर, आइतबार मैदान उत्रिँदा अघिल्लो विश्वकपमा जित हासिल गर्न मैदानमा निकै संघर्ष गर्नुपरेको अफ्रिकी राष्ट्र मोरक्कोविरुद्ध सचेत हुनुपर्ने छ। सन् १९९४ मा अमेरिकामा आयोजना भएको विश्वकपमा बेल्जियमले समूह ‘एफ’को पहिलो खेलमै मोरक्कोलाई पराजित गरेको थियो। बेल्जियमको जितमा एकमात्रै गोल मार्क डेग्रिसले गरेका थिए।
त्यसयता पाँचौँपटक विश्वकपमा सहभागिता जनाइरहेको यस टोलीलाई ‘स्वर्णिम पुस्ता’ को उपमा दिने गरिन्छ। यस टोलीका अधिकांश खेलाडी ३० वर्षभन्दा माथिका छन्।
यता, मोरक्कोले विश्वकप छनोटमा ठूलो कठिनाइ बेहोरेको छ। त्यसैले सन् १०१८ को उपविजेता क्रोएसियासँगको पहिलो खेलमा निकालेको बराबरीलाई नै मोरक्कोले विजय उत्सव मनाएको थियो।
सन् १९७० को विश्वकपमा पहिलोपटक सहभागिता जनाएको मोरक्को समूह चरणबाटै बाहिरिएको थियो। तर, सन् १९८६ को विश्वकपमा मोरक्कोले इंग्ल्यान्ड, पोल्यान्ड र पोर्चुगलजस्ता बलिया देश रहेको समूहको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनायो। त्यसको चार वर्षपछि आयोजना भएको विश्वकपमा भने मोरक्को छनोट भएन।
सन् १९९४ र १९९८ को विश्वकपमा मोरक्को छनोट भयो, तर समूह चरण पार गर्न सकेन। त्यसपछि लगातार चारवटा विश्वकपमा छनोट हुन नसकेको मोरक्को पाँचौँ प्रयासमा भने सफल भएको हो। यो प्रयाससँगै मोरक्को आफ्नो कठिन प्रतिस्पर्धी क्रोएसियासँग एक अंक खोस्न सफल भयो।
मुख्य प्रशिक्षक वालिड रेग्रागुईले पहिले नै मोरक्को नकआउट चरणमा पुग्न योग्य नरहेको स्वीकार गरिसकेका छन्। यद्यपि, मोरक्को कतार विश्वकप यादगार बनाउँदै स्वदेश फर्किन चाहन्छ। गतवर्ष अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा इजिप्टसँग २-१ गोल अन्तरले पराजित भएपछि हाकिमी जिएच र नोसैरसँगको विवादले पूर्वप्रशिक्षक भाहिद हालिल्होडिकले राजीनामा दिनुपरेको थियो। यता, जिएचले भने सन्न्यास लिएका थिए। उनले राजीनामा दिएसँगै नियुक्त भएका प्रशिक्षक रेग्रागुईले दुवैलाई टोलीमा फिर्ता बोलाएका थिए।
२२औँ संस्करणको विश्वकपमा सकारात्मक शुरूआतपछि कतारी क्लब अल-दुहेलका पूर्व प्रशिक्षकसमेत रहेका रेग्रागुई आफ्नै भनाइलाई सच्याएका छन्। चार दिनपछि क्यानडासँग सम्भावित निर्णायक भिडन्तको सामना गर्नुअघि उनी बेल्जियमसँग एक अंक चाहन्छन्।
बेल्जियमका प्रशिक्षक मार्टिनेजले स्टार फरवार्ड लुकाकु यस साताको अन्त्यदेखि खेल्न थाल्ने घोषणा गरिसकेका छन्। तर, आइतबार भने मोरक्कोलाई ढुक्क हुने स्थिति छैन।
लुकाकुको अनुपस्थितिमा प्रशिक्षक मार्टिनेजले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वफरवार्ड मिसीलाई आग्रपंतिमा खेलाउन सक्छन्। लुकाकुजस्तै उनी बेल्जियमबाट प्रभावशाली खेल प्रदर्शन गर्दै आएका छन्। सन् २०१५ मा बेल्जियमको सिनियर टोलीमा डेब्यु गरेका उनले ४९ खेलमा २७ गोल गरिसकेका छन्।
उनलाई लिग वान क्लब लेन्सका फरवार्ड लोइस ओपेन्डाले दोस्रो हाफमा परिवर्तन गर्नसक्छन्। यता, लिआन्ड्रो ट्रोसार्ड पनि बेल्जियमको अर्को विकल्प हुनसक्छन्।
क्यानडाविरुद्धको खेलमा ट्रोसार्डले मिसी र ब्रुएनासँग उत्कृष्ट ‘क्यामियो’ बनाएका थिए। यद्यपि, उनलाई कप्तान इडेन हाजार्डलाई प्रतिस्थापन गर्न पछिल्ला समयमा गाह्रो भइरहेको छ।
मार्टिनेजले बुधबार क्यानडाविरुद्ध खेलाएको खेलाडीलाई नै निरन्तरता दिने छाँटकाँट देखाइसकेका छन्। तर, विंग-ब्याक थोमस म्युनियर र सेन्ट्रल मिडफिल्ड अमाडो ओनानालाई शुरूआती ११ मा खेलाउँदा सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो।
यसैबीच, मोरक्कोको मिडफिल्ड सोफयान अम्राबातले पुनः सम्हाल्ने छन्। स्पेनिस क्लब सेभिल्लाका गोलरक्षक यासिन बोनौले रक्षकहरू अचरफ हाकिमी, रोमन साइस र नायेफ अगुएर्डलाई सघाउने छन्। जर्मन क्लब बायर्न म्युनिख फुल ब्याक नोसिर माजरौ पनि उनीहरूसँगै हुने सम्भावना छ।
प्रशिक्षक रेग्रागुई अग्रपंतिमा चेल्सीका विंगर जिएचलाई चाहन्छन्। रेग्रागुईले नेदरल्यान्ड्समा जन्मिएका जिएचलाई ‘अपनाएको देशका लागि लडिरहेका एक योद्धा’ भनेर बखान गरिरहन्छन्।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
