चीनमा लकडाउनको विरोधमा प्रदर्शन चर्किंदै, राष्ट्रपति सीको राजीनामा माग

चीनका विभिन्न शहरमा कोरोना भाइरस संक्रकण रोक्नका लागि सरकारले लागू गरेका कडा नियमका विरुद्धमा प्रदर्शन गरिएको छ।

चीनमा शून्य कोभिड नीतिको विरोधमा जारी प्रदर्शन हिंसात्मक बनेको छ। शनिबार मात्रै चीनका प्रमुख शहर तथा क्याम्पसमा चीनले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्डविरुद्ध प्रदर्शन चर्किएको थियो।

सांघाईमा प्रदर्शनकारीले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष एवं राष्ट्रपति सी चिनफिङको राजीनामा मागेका थिए। सीविरुद्ध नाराबाजी गर्दै उनलाई पदबाट राजीनामा दिन उनीहरूले दबाव दिएका थिए। प्रदर्शनकारीले ‘हामी स्वतन्त्रता चाहन्छौँ’ ‘राष्ट्रपतिले राजीनामा’ देऊ भन्दै नाराबाजी गरेको बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ। प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई तितरवितर पारिएको थियो। सो क्रममा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि धक्कामुक्कीसमेत भएको थियो।

चीनमा सरकारविरोधी यस्ता प्रदर्शन बिरलै हुने गरेका छन्। चीनमा राष्ट्रपति र सरकारविरोधी गतिविधिमा संलग्न र प्रत्यक्ष आलोचना गर्नेलाई गम्भीर प्रकृतिका सजाय हुन सक्छन्।

पश्चिमी सिन्जियाङ प्रान्तको क्षेत्रीय राजधानी उरुम्चीमा शुक्रबारको प्रदर्शनका क्रममा एक भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि शनिबार सांघाईमा घटनाको विरोधमा प्रदर्शन चर्किएको हो। त्यसअघि बिहीबारको आगलागीमा पनि ९ जना गम्भीर घाइते भएका थिए।

त्यहाँ जारी लकडाउनका कारण आक्रोशित मानिसले आवासीय भवनमा आगजनी गरेको स्थानीयको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर, चिनियाँ अधिकारीहरूले यसको खण्डन गरेका छन्।

यस घटनाको विरोधमा शनिबार सांघाईसहित चीनका विभिन्न शहरमा आन्दोलन चर्किएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। चीनमा ३ वर्षयता जारी कोभिडसम्बन्धी कडा नीति, विभिन्न शहरमा लकडाउन र आवतजावतमा रोक लगाउने सरकारी कदमले आक्रोशित जनतालाई शुक्रबारको घटनाले थप उग्र बनाएको न्युयोर्क टाइम्सले लेखेको छ।

सरकारको शून्य कोभिड नीतिको विरोधमा बेइजिङ, सांघाई, सिन्जियाङ, गोन्झाओलगायत दर्जनौँ शहरमा प्रदर्शन जारी छ। यस्तै, नानजिङ सामुदायिक विश्वविद्यालयमा सबैभन्दा ठूलो प्रदर्शन देखिएको बीबीसीले उल्लेख गरेको छ।

कोभिड महामारी शुरू भएको ३ वर्षसम्म पनि चीनले पूर्ण रूपमा लकडाउन हटाएको छैन। कोभिडविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता गरेको चिनियाँ सरकारले संक्रमण देखिएका क्षेत्रहरूमा कडा प्रतिबन्ध लगाउँदै आएको छ। यसको विरोधमा सर्वसाधारणले आन्दोलनमार्फत आक्रोश पोखिरहेका छन्।