वालिङ नगरपालिका–४ का शिव थापाले दुई वर्षअघि ड्रागनका ३०० वटा बिरुवा लगाएका थिए। त्यसले फल दिन थालेपछि विस्तार गर्दै हाल पाँच रोपनीमा एक हजार बिरुवा लगाएका छन्।
वालिङ– स्याङ्जाको वालिङ नगरपालिका–४ का शिव थापा वैदेशिक रोजगारीका लागि १२ वर्षअघि दक्षिण कोरिया गए। त्यहाँ १० वर्षसम्म निर्माण र कृषि क्षेत्रमा काम गरे।
अहिले भने उनी गाउँ फर्किएर व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न थालेका छन्। विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरिरहेको शिव बताउँछन्। “दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरेता पनि फुर्सदमा त्यहाँका कृषि फार्ममा पनि काम गरेर अनुभव लिएको थिएँ,” उनले भने, “त्यहाँ सिकेको ज्ञान अहिले आफ्नै जन्मभूमिमा फर्केर प्रयोग गरेर आम्दानीसित जोडिएको छु।”
उनले दुई वर्षअघि ड्रागनका ३०० वटा बिरुवा लगाएका थिए। बिरुवाले प्रशस्त फल दिन थालेपछि त्यसलाई विस्तार गर्दै हाल पाँच रोपनीमा एक हजार बिरुवा लगाएका छन्।
“नयाँ फल भएकाले स्थानीय बजारमा यसको खपत भएको छ,”उनले भने, “गत वर्ष घरबाट नै डेढ क्विन्टल बिक्री गरेको थिएँ। यस वर्ष पाँच क्विन्टल बिक्री गर्ने लक्ष्य छ।” प्रतिकिलो ५०० रुपैयाँमा घरबाटै बिक्री हुने गरेकाले बजारको समस्या नभएको उनले बताए। बरु मागअनुसार आपूर्ति गर्न सकेका छैनन्।
६ लाख रुपैयाँ लगानी गरेर खेती थालेका थापालाई फार्मको सुरक्षाका लागि वालिङ नगरपालिकाले तारबार गर्न तीन लाख उपलब्ध गराएको थियो। वडा कार्यालयले पनि सिँचाइका लागि सहयोग गरेको छ। ड्रागन फ्रुटसँगै खाली रहेको जमिनमा कोरियाली साग (फेछु) र चिनियाँ साग पनि लगाएका छन्। “ड्रागन फ्रुटका बोटका बीचमा साग लगाएको छु। त्यसको माग अत्यधिक छ,” उनले भने, “तीन–तीन महिनामा साग बेचेर एक लाख हाराहारी आम्दानी गर्दै आएको छु।”
साग पनि स्थानीय व्यापारीले घरमै आएर किन्ने गरेको शिवले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
