कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चार वर्षको अवधिमा आगलागीबाट ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ।
सुर्खेत– कर्णाली प्रदेशमा विगत चार वर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ।
उक्त तथ्यांकअनुसार मुगुमा ३१ करोड २८ लाख ४४ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, जुम्लामा ११ करोड ६६ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको छ। कर्णालीमा आर्थिक वर्ष २०७७/०७८, ०७८/०७९, ०७९/०८०, र चालु आर्थिक वर्षको चैत मसान्तसम्म आगलागीमा परी ६७ जना घाइते भएका छन्। आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए।
ओलीका अनुसार कालीकोटमा १३ जना, डोल्पामा आठ जना, सल्यानमा सात, सुर्खेत र जुम्लामा ६–६ जना, दैलेखमा पाँच, मुगुमा चार, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा दुई-दुई जनाको मृत्यु भएको छ। २७८ घर परिवार विस्थापित भएका छन्। ३५८ वटा पशुचौपायाको क्षति भएको छ।
चार वर्षमा सबैभन्दा बढी जुम्लामा १२३ घर परिवार विस्थापित भएका छन्। सल्यानमा ४०, जाजरकोटमा ३३, कालीकोटमा ३१, रुकुम पश्चिममा २५, सुर्खेतमा २०, दैलेखमा चार, हुम्लामा दुई घर परिवार विस्थापित भएका हुन्।
आगलागी तथा विभिन्न विपद्मा तत्काल उद्धारका लागि कर्णालीका १० वटै जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली २४सै घण्टा तयारी अवस्थामा राखिएको प्रवक्ता ओलीले जानकारी दिए।
आगलागी तथा वन डढेलो नियन्त्रणका लागि प्रहरी एक्लैले सम्भव नभएकाले स्थानीय सरकार तथा समुदायले सहयोग गर्नुपर्ने उनले बताए। कर्णालीमा वनजंगल नजिकै बस्ती र खरको छानो भएकाले आगलागीका घटना धेरै हुने गरेका छन्। चैत महिनामा मात्रै आगलागीमा परी कर्णालीमा सात जनाको मृत्यु भएको छ।
गत चैत २ गते बाख्रा चराउन गएका कालीकोटको खाडाचक्र-५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी ५० वर्षका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको थियो। नन्दरामका ४५ वटा बाख्रा जलेर मरेका थिए।
यस्तै चैत ३० गते हुम्लाको सर्केगाड गाउँपालिका-८ रादेउ कुरिल्ला लेखको आफ्नै भेँडीगोठमा राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको थियो। भेँडीगोठको आगलागीबाट ६० वटा भेँडासमेत मरेका थिए। चैत ३० गते नै डोल्पामा आगलागीमा परी १० वर्षका सुलज बुढाको मृत्यु भयो। उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा बुढाको मृत्यु भएको थियो।
त्यसैगरी चैत २६ गते डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका नेपाली सेनाको देवीदत्त गुल्मका तीन जना सिपाहीको मृत्यु भएको थियो। मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्गा मगर र हुम्ला घर भएका २३ वर्षका सिपाही आशीष बुढा र जुम्लाको तातोपानी गाउँपालिका-४ का २४ वर्षीय हेमन्त रावत थिए।
कर्णालीमा अझै कतिपय घरमा टुकी, दियालो बाल्ने गरेको र चुरोट तमाखु खाँदा फालिएको आगोलगायतले आगलागी हुने गरेको प्रहरीको भनाइ छ। शहरी क्षेत्रमा भने विद्युत् सर्ट भई आगलागी हुने गरेका छन्।
गाउँका सामुदायिक वनमा घाँस राम्रो पलाउने भन्दै आगो लगाउने प्रवृत्ति रोकिएको छैन। गोठालो जाने स्थानीय बासिन्दा र बालबालिकाले आगो लगाउने गरेका छन्। आगो लगाउँदा कसैले कारबाही नभोगेका कारण बर्सेनि आगलागीका घटना बढेको हो। यसरी आगो लगाउँदा वनक्षेत्रसँगै जंगली जनावर, चरा चुरुङ्गी मासिने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
