बाली भित्र्याउने समयमा विपत्ति आइपरेपछि पीडामा रहेका किसान क्षतिको मूल्यांकन गरी सरकारले राहत उपलब्ध गराउने अपेक्षामा छन्।
कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौँ मिहिनेत गरेर फलाएको गहुँ काटेर घर भित्र्याउने तयारीमा थिए। त्यही बेला गत साता एक्कासि आगलागी भएपछि गहुँबालीको थुप्रो खेतमै जलेर खरानी भयो।
महिनौँको मिहिनेत आगोको लप्काले क्षणभरमै खरानी भएपछि मगर अहिले चिन्तित छन्। “महिनौँ मिहिनेत गरेर उब्जाएको गहुँको एक दाना पनि जोगाउन सकिएन। आगोले क्षणभरमै सबै खरानी बनायो,” मगर भन्छन्, “घरभित्रको अन्नपात पनि सकियो, भित्र्याउनै आँटेको गहुँबाली पनि खरानी भएपछि अब के खानु! कसरी बाँच्नु!”
मगर परिवारले १२ कट्ठा जमिनमा गहुँबाली उब्जाएको थियो। त्यही अन्नले १५ जनाको परिवारको छाक टार्नुपर्ने थियो। विगतका वर्षहरूभन्दा यस वर्ष पर्याप्त सिँचाइ तथा उन्नत जातको बीउ प्रयोग भएकाले मगर परिवारले तुलनात्मक रूपमा विगतभन्दा बढी गहुँ हुने आशामा थियो।
उनी भन्छन्, “यो वर्ष तीन/चार पटक सिँचाइ गर्यौँ। उन्नत जातको बीउ र पर्याप्त मलखादको प्रयोग भएकाले अघिल्लो वर्षभन्दा राम्रो उत्पादन हुने आशा थियो तर आगोले गहुँ मात्रै होइन हाम्रो आशा पनि खरानी बनाइदियो।”
बाबास्थानकै नरेश कुमालको पनि सोही दिनको आगलागीले एक बिघा जमिनको गहुँबाली जलेर नष्ट भयो। यतिबेला कुमाललाई सात जनाको परिवारलाई के खुवाउने र गोठमा रहेका २० बाख्रा र तीन भैँसीलाई वर्षभरि कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ।
“गहुँ काटेर मुठा बाँधिसकेका थियौँ। आगोले पूरै जलेर राख भयो। अहिलेसम्म यस्तो विपत्ति कहिल्यै भएको थिएन,” उनी भन्छन्, “घरभित्रको अन्न पहिल्यै खाएर सकिसक्यो। अब खानलाई अन्न छैन, कसरी गुजारा गर्ने होला!”
कुमाल परिवारले कृषिलाई नै मुख्य उद्यम बनाएर यहीँबाट आएको पैसाले घरखर्च चलाउने गरेको थियो।
“विगतमा त्यही खेतमा उब्जेको गहुँ वर्षभरिलाई राखिन्थ्यो र बाँकी बिक्री गरेर घरखर्च चलेको थियो। यो वर्ष भने आगोले सखाप बनाएपछि आफूलाई मात्रै होइन छिमेकीबाट सापटी लिएको गहुँ पनि फिर्ता गर्न पाइएन,” उनले दुखेसो पोखे।
गत बिहीबार रूखको हाँगा टुटेर बिजुलीको तारमा परेपछि त्यसैबाट गहुँबालीमा आगो सल्केको स्थानीय बासिन्दाको भनाइ छ। आगलागीबाट बाबास्थानका १५ किसानको करिब ११ बिघा जमिनको गहुँबाली जलेर नष्ट भएको थियो।
पसिना चुहाउँदै महिनौँ मिहिनेत गरेर लगाएको बाली खरानी भएपछि पीडामा रहेका तिनै किसान अहिले बस्तुभाउका लागि जलेको गहुँ संकलन गरिरहेका छन्।
तीन बिघा जमिनको गहुँबाली जलेर पछि पीडामा रहेका स्थानीय लालबहादुर पुन मगर हुन्छ, “बाख्रा, बंगुरलगायत बस्तुभाउका लागि होला भनेर खरानीसहितको जलेको गहुँ बटुलिरहेका छौँ। अघिल्लो पटक ४० क्विन्टल गहुँ बिक्री गरेकामा यो पटक बस्तुभाउका लागि खरानी बटुलेर बस्नुपरेको छ।”
आगलागीबाट जोगिएको एक बिघा जमिनबाट मात्रै यो वर्ष ३० क्विन्टल गहुँ उत्पादन भएको उनको भनाइ छ। लालबहादुरले बाख्रा, भैँसी र बंगरपालन पनि गरेका छन्। तीन बिघा जमिनको गहुँ खरानी बनेपछि बाख्रा, भैँसी र बंगुरपालनमा पनि धक्का लागेको उनको गुनासो छ।
“गहुँ त जल्यो, जल्यो, बस्तुभाउका लागि भुस पनि रहेन। चौपायालाई कसरी पाल्ने भन्ने चिन्ता छ,” उनले भने, “आगो लागेको १० मिनेटमै पूरै बाली जलेर खरानी भयो। दमकल नआएको भए बाबास्थान बजार पनि जल्थ्यो,” लालबहादुरको बुझाइ छ।
बाली भित्र्याउने समयमा विपत्ति आइपरेपछि पीडामा रहेका किसान क्षतिको मूल्यांकन गरी सरकारले राहत उपलब्ध गराउने अपेक्षामा छन्। पीडित किसानले स्थानीय पालिकामा क्षतिको विवरण पनि बुझाइसकेका छन्। दोधारा चाँदनी नगरपालिकाले राहत स्वरूप प्रत्येक किसानलाई तत्काल पाँच हजार रुपैयाँ वितरण गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
