एडिस लामखुट्टे यति प्रचुर मात्रामा छ कि विश्वभर हरेक वर्ष दश करोड मान्छे डेंगीका कारण बिरामी पर्छन्।
मलेरिया फैलाउने आफ्नो गुप्त 'कजिन'भन्दा बिलकुल फरक एडिस एजिप्टीको स्त्री जातीय लामखुट्टेले आक्रामक ड्रोनको शैलीमा आफू आएको जनाउ हामीलाई दिन्छ। (पोथी लामखुट्टेले मात्र मान्छे र अन्य जनावरलाई टोक्छ।-सं.) यसको टोकाइ यसको भुनभुनाहटभन्दा धेरै घातक छ। यो लामखुट्टेले फ्लेभिभाइरस प्याथोजेन (रोग सार्ने जैविक दूत) बोकेको अवस्थामा टोकिइने व्यक्ति डेंगी ज्वरोबाट संक्रमित हुनसक्छ।
धेरैजसो संक्रमणमा लक्षणहरू नै नदेखिन सक्छन्, तर लामखुट्टेले टोकेका केहीमा भने 'हड्डीतोड' ज्वरो आउँछ, जसले अति कडा जोर्नी दुखाइ, रक्तस्राव हुन्छ र कहिलेकाहीँ मृत्युसमेत निम्त्याउँछ। यो लामखुट्टेले टोकेपछि हुने प्रभावबारे अझै उति राम्रोसँग बुझिएको छैन, जसमा थकान र संज्ञानात्मक समस्या पनि समावेश छन्। एडिस लामखुट्टे विश्वभर यति प्रचुर मात्रामा छ कि संयुक्त राज्य अमेरिकाको 'डिजिज कन्ट्रोल र प्रिभेन्सन'ले गणना गरेअनुसार विश्वभर हरेक वर्ष दश करोड मान्छे डेंगीका कारण बिरामी पर्छन्।
विश्वभर डेंगीबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार सन् २००० मा डेंगी संक्रमणका कारण करिब २० हजार मानिसको मृत्यु भएको थियो। यो वर्ष कम्तीमा ४० हजारको मृत्यु हुने अनुमान छ। विपरीत, डब्ल्यूएचओका अनुसार सन् २००० र २०२२ बीच, मलेरियाबाट हुने मृत्यु भने ३० प्रतिशतले घटेको छ।
भयानक ज्वरो र त्यसको परिणाम नै डेंगीको सबैभन्दा ठूलो पीडा हो। यस रोगबाट हुने मृत्युको संख्याको तुलनामा संक्रमण धेरै तीव्र गतिमा बढेको छ। संयुक्त राष्ट्रको एक शाखा, प्यान अमेरिकन हेल्थ अर्गनाइजेसनका अनुसार ल्याटिन अमेरिका यो संक्रमणबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो, जहाँ सन् २००० देखि २००५ बीच प्रतिवर्ष औसत पाँच लाख ३५ हजार प्रभावित भएका थिए।
सन् २०२३ मा डेंगीले ४.६ लाख मान्छेलाई संक्रमित बनायो भने यही २०२४ मा ५.९ लाख मान्छे यसबाट संक्रमित भइसकेका छन्। एडिस लामखुट्टेले ब्राजिलियनलाई यति बिरामी बनाउँछ कि यसले यहाँको कुल गार्हस्थ्य उत्पादनलाई ०.२ प्रतिशतसम्म तल झार्न सक्छ। डेंगीबाट प्रभावित देशका कतिपय क्षेत्रको स्कुलमा स्कुल नजाने दर यसको संक्रमणबाट प्रभावित नभएको क्षेत्रको तुलनामा लगभग ५ प्रतिशतभन्दा अधिक छ।
समस्या अझै बढ्ने तथा उष्ण कटिबन्ध (ट्रपिक्स) भन्दा अझै परसम्म यो रोग फैलने सम्भावना छ। एडिस लामखुट्टे तापमानमा हुने सामान्य बदलावप्रति पनि संवेदनशील हुन्छ। जसरी पृथ्वीको तापमान बढ्दै गइरहेको छ, डेंगी लगाउने लामखुट्टेको वृद्धिदर पनि बढिरहेको छ। स्मरणीय छ, मलेरिया फैलाउने एनोफेलिज प्रजाति संसारको अधिकांश क्षेत्रमा पहिले देखि नै स्थापित छन्, तर एडिस अझै स्थापित छैन।
वैज्ञानिक मोडलिङबाट बुझिन्छ कि जलवायु परिवर्तनको अहिलेको 'ट्रेन्ड' हेर्दा, एडिस दक्षिणी युरोप र संयुक्त राज्य अमेरिकाको धेरै क्षेत्रमा फैलनेछ, जसबाट अन्य दुई अर्ब मान्छेमा डेंगी हुने खतरा रहन्छ।
शहरीकरणले यो रोग फैलन झनै सजिलो पार्छ। शहरहरूमा मानिसहरू अनेक समूहमा भिड बनेर रहेका हुँदा प्रत्येक लामखुट्टेले आफ्नो छोटो, दुई-हप्ताको जीवनकालमा धेरैलाई टोक्न भ्याउँछ। बांग्लादेश र भारतलगायत देशसहित पहिले धेरै डेंगीबाट पीडित नभएका ठाउँहरूमा समेत यसका केस तीव्र रूपमा बढिरहेका छन्। हालैका वर्षमा क्यालिफोर्निया, दक्षिणी युरोप र 'सबट्रपिकल' अफ्रिकामा पनि डेंगीका केसहरू बढ्दै गएका छन्।
त्यसो हुँदा ज्वरोका अनेकन् असरहरूका लागि विश्वले अझै धेरै तयारी गर्नु आवश्यक छ। यद्यपि, समृद्ध उत्तरी गोलार्द्ध सबैभन्दा बढी खतरामा रहँदै गर्दैगर्दा विश्वको गरिब क्षेत्रचाहिँ यो रोगका कारण सबैभन्दा बढी मारमा पर्नेछन्। पहिल्यै कमजोर र संघर्षरत अर्थव्यवस्था रहेका देशहरूले यो बिमारीले निम्त्याउने न्यून उत्पादनको जोखिम उठाउन सक्नेछैनन्, न त उनीहरूलाई यसको विस्तार रोक्न सक्ने उपायहरूका लागि खर्च जुटाउन सहज हुनेछ। मलेरिया रोक्नको लागि सस्तो र प्रभावकारी तरिका काफी थियो, ओछ्यानमा लगाउने जाली भए पुग्थ्यो। तर डेंगीमा यसले काम गर्दैन, किनभने एडिस लामखुट्टेले एनोफिलिसको विपरीत, दिनको समयमा मानिसलाई टोक्छ।
सिंगापुरले लामो समययता डेंगीसँग लडेर आफूलाई यस कामका लागि समर्थ (धनी) छ भन्ने प्रस्ट पारेको छ। आफ्ना सार्वजनिक स्वास्थ्य कार्यकर्तालाई सडकमा जमेर रहेका पानीका स्रोत खोज्न (सफा स्थिर पानीमा लामखुट्टे जन्मन्छन्), जमेको पानी निकार्न र पानी जमाएर राख्ने व्यक्तिहरूलाई जरिबाना गराउने कुरामा यस देशले पर्याप्त काम गरेको छ।
सिंगापुरले पहिले प्रकोपलाई कसरी सामना गर्ने भन्नेबारे मोडल तयार पार्छ। त्यसपछि पहेँलो लुगा (विषादी आदि हानिकारक केमिकल प्रयोग गर्दा लगाइने विशेष पोसाक) मा कीटनाशक स्प्रेयरसहितको प्लाटुन सम्भावित प्रकोपस्थलमा तैनाथ गरिन्छन्।
ल्याटिन अमेरिकी देशहरूमा पनि पहेँलो लुगा लगाउने प्लाटुन (समूह) छन्, तर कमजोर बजेटले ठूलो क्षेत्र समेट्नु पर्दा, डेंगीको विस्फोटन वृद्धि कम गर्न तिनले खासै केही गर्न सकेका छैनन्। झुपडपट्टीमा लामखुट्टेको प्रजननस्थल पत्ता लगाउने काम आफैँमा कठिन हुन जान्छ।
त्यसो हुँदा यस क्षेत्रमा अन्य उपायबारे विचार गर्नु यी देशका लागि बुद्धिमानी हुनेछ। सन् २०१६ देखि सिंगापुर अझ अर्को 'हाइटेक' कार्यक्रम चलाइरहेको छ। प्रत्येक हप्ता सिंगापुरले वोल्बाचिया ब्याक्टेरियाबाट संक्रमित लामखुट्टे छाड्ने गर्छ। सो ब्याक्टेरियाको संक्रमणका कारण ती लामखुट्टे या तिनका बच्चामार्फत डेंगी निम्त्याउने भाइरस सार्नबाट रोकिन्छ र प्रतिवर्ष ३५ मिलियन अमेरिकी डलर (भन्नुको अर्थ प्रतिनिवासी ६ डलर) खर्च गर्नुपर्ने टन्टाबाट बचाउँछ।
यससँगै सिंगापुर डेंगीविरुद्ध नयाँ भ्याक्सिनको विकासको क्रममा रहेको छ। यसले जमेका पानीका स्रोत खोज्नै हिँड्नुपर्ने अहिलेको जस्तो झन्झटबाट मुक्त गराउनेछ। कोलम्बियामा पनि लामखुट्टेलाई वोल्बाचियाको संक्रमण गराएर छाड्दा त्यस क्षेत्रमा डेंगीका घटनामा ९४ प्रतिशत कमी आएको छ।
विश्वको सबैभन्दा ठूलो वोल्बाचिया संक्रमित लामखुट्टे उत्पादन गर्ने कारखाना यस वर्ष ब्राजिलको क्युरिटिबा शहरमा सञ्चालन हुन लागेको छ। डेंगी फैलिएपछि यस्तो कदम अन्यत्र पनि चालिनुपर्छ। एडिस लामखुट्टेको भुनभुनाहटलाई डरलाग्दो महामारीका रूपमा नभई सामान्य तनावका रूपमा मात्रै कायम राख्नेतर्फ अबको लक्ष्य केन्द्रित हुनुपर्छ।
(द 'इकोनोमिस्ट'को 'याज् द प्लानेट वार्म्स, वाच आउट फर डेंगी फिबर' शीर्षकटिप्पणीको भावानुवाद।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
