विश्वकप : जापानविरुद्ध कोस्टारिकाको जितले समूह ‘ई’ रोमाञ्चक

कोस्टारिकाले एशियाली राष्ट्र जापानमाथि १-० को जित निकालेको छ। जितसँगै कोस्टरिकाले नकआउट चरण प्रवेशको सम्भावना जीवित राखेको छ

काठमाडौँ– राइट ब्याक केस्पर फुलर स्पिन्सको गोलमा कोस्टारिकाले कतार विश्वकप २०२२ को नकआउट चरण प्रवेशको सम्भावना जीवित राखेको छ। अमेद बिन अली स्टेडियममा आइतबार सम्पन्न समूह 'ई'को खेलमा कोस्टरिकाले एशियाली राष्ट्र जापानमाथि १-० को जित निकालेको हो।

समूह 'ई'को पहिलो खेलमा स्पेनसँग ७-० को लस्जास्पद हार व्यहोरेको कोस्टारिकाले आइतबार भने जापानविरुद्ध शुरूआती समयदेखि नै आक्रमक देखिएको थियो। तर, विजयी गोल गर्न भने खेलको ८१औँ मिनेटमा पर्खिन पर्‍यो।

जितसँगै ३ अंक जोडेको कोस्टारिका अंक तालिकाको तेस्रो स्थानमा छ। यता, स्पेन एक खेलमा तीन अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थान रहेको जापान गोल संख्याको आधारमा दोस्रो स्थानमा छ। जापानले पहिलो खेलमा जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।

आइतबार राति हुने यही समूहको अर्को खेलमा स्पेन र जर्मनी भिड्ने छन्। स्पेनसँग हार नटारे जर्मनी समूह चरणबाटै बाहिरिने छ। जर्मनीको जित या बराबरीको नतिजाले भने समूह 'ई'बाट नकआउट चरण प्रवेश गर्ने दौडमा चारवटै टोली रहने छन्।

सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको कोस्टारिका २०१८ मा भने समूह चरणबाट बाहिरिएको थियो। यता, जापानले भने १६ सम्मको यात्रा तय गरेको थियो।