नेप्से परिसूचकमा क्रमिक सुधार, कारोबार रकम पनि बढ्यो

सोमबार ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौँ– शेयर बजार कारोबारमा सोमबार परिसूचकसँग कारोबार रकममा पनि सुधार देखिएको छ। साताको पहिलो कारोबार दिन आइतबारका तुलनामा सोमबार कारोबार रकम बढेको हो। सोमबार बजार नेप्से परिसूचक ०.०७ अंकले बढ्दै १९८०.३४ को विन्दुमा रह्यो। 

७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नेप्से परिसूचक १४.३३ अंकले बढ्दै १९८०.२७ विन्दुमा पुग्दा कारोबार रकम दुई अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको भएको थियो। 

बजार परिसूचक माथि उचाल्न एक्लै फाइनान्स उपसमूह ४.१७ प्रतिशतले बढ्दा बल मिलेको हो। विकास बैंक उपसमूह १.६६ प्रतिशतले बढेको छ। वाणिज्य बैंक, म्युचुअल फन्ड पनि बढेको छ। १३ मध्ये ९ उपसमूह घटेका छन्।  

आइतबार पनि फाइनान्स उपसमूह ३.९८ प्रतिशतले बढेको थियो। शेयरमूल्य बढ्ने र कारोबार उल्लेख्य हुनेमा फाइनान्स कम्पनी नै अगाडि छन्। 

सोमबार ९९ कम्पनीको शेयरमूल्य बढेको छ भने १२८ को घटेको छ। १७ कम्पनीको शेयरमूल्य स्थिर रह्यो।

शेयरमूल्य बढ्ने र सर्वाधिक कारोबार हुनेमा दोस्रो दिन पनि पोखरा फाइनान्स सबैभन्दा अगाडि रह्यो। उक्त कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ। शेयर कारोबार १७ करोड ५४ लाख रुपैयाँ बराबरको भएको छ। यस्तै, जानकी फाइनान्सको शेयरमूल्य पनि बढेर सर्किट लागेको छ भने नेपाल फाइनान्सको सेयरमा पनि सर्किटस्तरको बढोत्तरी छ। 

यस्तै, नेपाल फाइनान्सको १४ करोड ७० लाख र जानकी फाइनान्सको नौ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सोमबार शेयरमूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका शीर्ष पाँच कम्पनीमा पिपुल्स पावर, इस्टर्न हाइड्रोपावर, मेन्छियम हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र नेको इन्स्योरेन्स छन्।