चलचित्र माइतीघरका अभिनेता सीपी लोहनीको निधन

चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौँ– निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा सोमबार दिउँसो काठमाडौँमा निधन भएको छ।

अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको निधन भएको भतिज एवं पत्रकार विकासप्रसाद लोहनीले जानकारी दिए। 

गीतसंगीत क्षेत्रमा विशेष रुचि राख्ने लोहनीले सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गरेका थिए। उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकको जिम्मेवारीमा रहेका थिए।  

वास्तविक नाम चिदम्बरप्रसाद लोहनी भए पनि छोटकरीमा सीपी लोहनीका नाममा चलचित्र तथा गीतसंगीत क्षेत्रमा उनी परिचित थिए। माइतीघर चलचित्रका अभिनेत्री माला सिन्हासँग विवाह गरेका स्वर्गीय लोहनीको एक छोरी हाल संयुक्त राज्य अमेरिकामा रहेको पत्रकार विकासले जानकारी दिए। लोहनीको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारले जनाइएको छ।