स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्ने प्रणाली कार्यान्वयनमा

सूचना प्रविधिमा आधारित उद्योगका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा नतोकिएको उद्योग विभागले जनाएको छ।

काठमाडौँ– स्वचालित मार्ग (अटोमेटिक रुट)मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा आएको छ। सरकारले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ मा भएको व्यवस्था संशोधन गर्दै गत वैशाख ७ गते राजपत्रमा प्रकाशित गरेको थियो।

उक्त संशोधनमा भएको स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था सोमबारबाट कार्यान्वयनमा ल्याएको हो। तेस्रो लगानी सम्मेलनलाई मध्यनजर गर्दै उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्नका लागि विद्युतीय प्रणाली सञ्चालनमा ल्याएको हो।

उद्योग विभागका अनुसार स्वचालित मार्गमार्फत कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग–व्यवसायको लगानी स्वीकृत गर्ने व्यवस्था छ। विदेशी लगानीकर्ताले उक्त प्रणालीबाट सोमबारबाटै आवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फत प्राप्त गर्न सक्नेछन् भने सोही आधारमा कम्पनी दर्ता गर्न सक्नेछन्।

सूचना प्रविधिमा आधारित उद्योगका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा नतोकिएको उद्योग विभागले जनाएको छ।स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुने व्यवस्था कार्यान्वयनमा आएसँगै कार्यालय धाउनुपर्ने व्यवस्थाको अन्त्य भएको र यसले लगानीकर्तालाई सहज हुने उद्योग विभागको अपेक्षा छ।

उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत
तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा परियोजनाका लागि नौ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।

भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि तीन अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकर सिंह धामीले जानकारी दिए।

यस्तै, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि  सात करोड ६६ लाख रुपैयाँ लगानी पनि विभागले स्वीकृत गरेको छ। 

यस्तै, ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख रुपैयाँ बराबर लगानी स्वीकृत भएको छ। उद्योग विभागबाट स्वीकृत गरिएका विदेशी लगानीको पत्र विदेशी लगानीकर्ताहरूलाई सोमबार नै हस्तान्तरण गरिएको छ।