सकियो लगानी सम्मेलन, एक दर्जन समझदारीपत्रमा हस्ताक्षर

सम्मेलनका क्रममा ऊर्जा, सूचना प्रविधि, पूर्वाधार लगायतका क्षेत्रमा महत्त्वपूर्ण छलफल भएको र एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भएको लगानी बोर्डले जनाएको छ।

तस्वीर : रासस

काठमाडौँ– नेपालमा लगानीका लागि कानूनीदेखि अन्य प्रक्रियागत झन्झट हटेको र लगानीको वातावरण सुधारिएको सन्देश दिँदै दुईदिने लगानी सम्मेलन सकिएको छ।

सम्मेलनका क्रममा ऊर्जा, सूचना प्रविधि, पूर्वाधार लगायतका क्षेत्रमा महत्त्वपूर्ण छलफल भएको र एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भएको लगानी बोर्डले जनाएको छ।

बोर्डका अनुसार आइतबार र सोमबार काठमाडौँमा चलेको सम्मेलनमा ८०० विदेशीसहित २५ सयभन्दा बढी सरोकारवालको उपस्थिति रहेको थियो। 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनमा ऊर्जा, पर्यटन, पूर्वाधार लगायतका विभिन्न प्राथमिकताप्राप्त र सम्भावित आयोजना प्रदर्शन गरेर नेपाल लगानीका लागि उपयुक्त गन्तव्य रहेको पुष्टि गर्न सफल भएको बताए।

सम्मेलनमा १५४ वटा परियोजना राखिएकोमा लगानीकर्ताले तिनमा लगानीको लागि चासो देखाएको उनले बताए। तत्काल कार्यान्वयन गर्न सकिने सूचीमा राखिएका १९ परियोजनाका लागि आशयपत्र आह्वान गरिएको छ। विभिन्न विषयका १२ वटा सत्रहरूमा लगानीबारे छलफल भएको र त्यसले सम्बन्धित क्षेत्रमा लगानीका लागि स्पष्ट पारेको उनले बताए।

विश्व बैंक समूह, चीन, भारत, कुवेत, यूएई, यूके, अमेरिकाका प्रतिनिधिले लगानीका लागि अवसरका क्षेत्रहरूमा चासो व्यक्त गरेको कार्यकारी अधिकृत भट्टले बताए।

उनका अनुसार नेपालको दिगो विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन्। सम्मेलनका क्रममा नेपालमा सार्वजनिक निजी साझेदारीलाई अगाडि बढाउने समझदारीसहित दर्जन बढी सम्झौता पत्रमा हस्ताक्षर भएको पनि लगानी बोर्डले जनाएको छ।

सम्मेलनको पहिलो दिन डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको थियो। आइतबार नै नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको थियो। महासंघले फेडेरेसन अफ् मलेसियन म्यानुफ्याक्चरर्ससँग पनि सहकार्यका लागि सम्झौता गरेको छ।

लगानी सम्मेलनको दोस्रो दिन सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि ‘वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप)बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ।

त्यस्तै, साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप हङकङबीच वेलनेस रिसोर्ट तथा होटल व्यवसायमा सहकार्यसम्बन्धी सम्झौता पनि भएको छ। कपिलवस्तुको गोरुसिंघेमा १०० मिलियन युआन लगानी (जग्गाबाहेक) मा यो परियोजना प्रस्तावित भएको छ । 

सम्मेलनका क्रममा ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको छ।

मुगु जिल्लाको रारा ताल क्षेत्रमा लक्जरी रिसोर्ट निर्माणका लागि लगानी गर्न एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडबीच सम्झौता भएको छ। नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्ट्रिज एसोसिएसनबीच द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

यसका साथै तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा परियोजनाका लागि नौ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। विभागले सोमबार नै स्वचालित मार्ग (अटोमेटिक रुट)मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटनसमेत गरेको छ।