कोलम्बियामा सैन्य हेलिकप्टर दुर्घटनामा ९ सैनिकको मृत्यु

उत्तरी कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको मृत्यु भएको छ।

उत्तरी कोलम्बियामा हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको मृत्यु भएको छ। कोलम्बियाको राष्ट्रिय सेनाका अनुसार सैनिकलाई बन्दोबस्तीका सामग्री आपूर्ति गरेर फर्कने क्रममा सोमबार सैन्य हेलिकप्टर दुर्घटनामा परेको हो।

हेलिकप्टरको सोमबार दिउँसो बेससँग सम्पर्कविच्छेद भएको थियो। खोजी गर्ने क्रममा बोलिभर विभागको सान्ता रोजा नगरपालिकानजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सेनाले विज्ञप्तिमा बताएको छ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरे‍का छन्। उनले सेनाले गल्फ क्लानविरुद्ध कारबाही गरिरहेको पनि उल्लेख गरेका छन्। गल्फ क्लानलाई कोलम्बियामा लागुऔषध ओसारपसार र हत्याको आरोपमा आपराधिक समूहका रूपमा चिनिन्छ।