अमेरिकामा सबै महिलालाई ४० वर्षपछि स्तन क्यान्सर परीक्षण गर्न सुझाव

अमेरिकामा गत वर्ष ४३ हजारभन्दा बढी महिलाको स्तन क्यान्सरका कारण मृत्यु भएको थियो।

तस्वीर: एएफपी

स्तन क्यान्सरबाट मर्ने जोखिम कम गर्न महिलाहरूले ४० वर्ष पुगेपछि नियमित यसको जाँच गर्न सुझाव दिइएको छ। 

अमेरिकाको संघीय अनुदान प्राप्त गर्ने विज्ञको स्वतन्त्र समिति ‘यूएस प्रिभेन्टिभ सर्भिसेस टास्क फोर्स’ले ४० वर्ष नाघेका महिलाको स्वास्थ्य इतिहासका आधारमा यस्तो सुझाव दिएको हो। 

“४० वर्षभन्दा बढी उमेरका महिलालाई बढी स्तन क्यान्सर हुने गरेको छ भने हरेक वर्ष यो दर लगभग दुई प्रतिशतले बढिरहेको छ, त्यसैले यो सुझावले देशभरका मानिसका लागि ठूलो फरक पार्नेछ,” उनले भने, टास्क फोर्सका अध्यक्ष वान्डा निकोल्सनले भने, “४० वर्षको उमेरमा सबै महिलाको स्क्रिनिङ शुरू गरेर, हामी समग्रमा स्तन क्यान्सरबाट लगभग २० प्रतिशत बढी जीवन बचाउन सक्छौँ।”

अमेरिकामा गत वर्ष ४३ हजारभन्दा बढी महिलाको स्तन क्यान्सरका कारण मृत्यु भएको थियो। “क्यान्सरका कारण श्वेत महिलाको तुलनामा अश्वेत महिलाको मृत्यु हुने सम्भावना ४० प्रतिशत बढी हुन्छ। त्यसैले ४० वर्षको उमेरमा स्क्रिनिङ शुरू गर्दा अश्वेत महिलाका लागि अझ बढी फाइदा हुन्छ,” निकोल्सनले भने। 

नयाँ सिफारिस ७४ वर्षको उमेरसम्म लागू हुने र त्यसपछि लाभ र जोखिमको सन्तुलन अनिश्चित हुने कार्यदलले जनाएको छ ।

“क्यान्सरविरुद्धको लडाइँमा एक्सरे परीक्षण एक शक्तिशाली उपकरण भए तापनि यसका सीमा पनि छन्,” कार्यदलले वार्षिक रूपमा एक्सरे सिफारिस नगर्नुको कारण स्पष्ट पार्दै भनेको छ ।