धादिङको थाक्रेमा आगलागी: वृद्ध दम्पतीको मृत्यु

राति करिब ११ः३० बजेतिर घरमा आगो लाग्दा सुतिरहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ७० वर्षीया ठूली लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मलेखु– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलास्थित एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ।

बुधबार राति भएको आगलागीमा ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ७० वर्षीया ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए। 

एकतले घरमा आगलागी हुँदा सुतिरहेका उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा भएका अन्नपात र लत्ताकपडा पनि जलेर नष्ट भएको छ। 

“राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ। हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो,” केसीले भने।